२४ माघ

नेत्रविक्रम चन्द विप्लवका नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चुडामणि शर्माको घरमा तोडफोड गरेका छन् । निलम्बित आन्तरिक राजश्व विभागका महानिर्देशक शर्माको घरमा मंगलबार तोडफोड भएको हो ।

भ्रष्टाचारको अभियोग लागेका उनी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलका निवासी हुन् । विप्लवका कार्यकर्ताले हानेको ढुंगा लागेर उनको घरको सिसा तथा पर्खालमा क्षति पुगेको छ ।

विप्लवका कार्यकताले उनको घरको गेटमा सम्पत्ति राष्ट्रियकरण गर्न मागसहितको ब्यानर र कम्युनिस्ट पार्टीकाे झण्डासमेत झुण्डाएका छन् ।

शर्माविरूद्ध अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगको मुद्दा अदालतमा विचाराधीन रहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १५ माघमा करिब ४ करोड बराबरको अवैध धन आर्जन गरेको भन्दै विशष अदालतमा अर्को मुद्दा पनि दायर गरेको थियाे ।