२४ माघ

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुरको एकिकृत नमुना बस्तीको हस्तान्तरण आज एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो ।

उद्घाटन कायक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको थियो । नमुना बस्ती बनाउन गत असोज ४ गते शिलान्यास गरिएको थियो । २ सय ८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन् ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । त्यतिबेला बाढीले थुप्रैलाई घरबार बिहिन बनाएका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारद्धवयको अनुकरणीय कामको आफुले मात्र नभएर देशले नै प्रसंसा गर्न लायक काम भएको बताएकी थिईन् । यस्तो कामले सरकारले समेत साथ र सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । आगलागि र फुसको छाना भएको घर तराईबाट हटाउदै लानका लागि सरकारले पहल गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई रहेको थियो ।

आखिर निर्धारित बजेट अपुग भएकै अवस्थामा धुर्मुस(सुन्तलीले वस्ती निर्माण गरे । बस्ती निर्माण सम्पन्न भई सक्दा उनीहरुलाई बजारमा तिर्न ७० लाख बाकी रहेको हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउन्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरेले बताईन् । परियोजनाको अनुमानित लागत ५ करोड ९५ लाख थियो ।

पक्की घरमा बस्ने सपना पुरा भयो १०७ वर्षकी रामकलीको

रौतहटको सन्तपुर दलित बस्तीकी रामकली देवी हजराले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन पक्की घरमा बस्न पाउनेछु । १०७ वर्षीया उनको जीवन अभाव र दुःखमै बित्यो । ११ वर्षको उमेरमा बिहे गरेर मुश्किलले दुई जना बस्न मिल्ने सानो छाप्रोमा भित्रिएकी थिइन, रामकली ।

वर्षामा चुहिने, बाढी आउँदा भाग्नुपर्ने र गर्मीमा तातोले बस्नै नसक्ने झुपडीमा उनले सिंगो जिन्दगी बिताइन् । गत साउनमा आएको विनाशकारी बाढीले त्यही छाप्रो पनि बगाइदियो । त्यसपछि उनी विचल्लीमा परिन् । श्रीमानको मृत्युपछि दुःख गरेर परिवार धानेकी रामकलीको छोरा जीवन हजराको पनि मृत्यु भइसकेको छ ।

‘गरिबीमा बाँच्नु लेख्या रैछ । त्यसैले भगवानले पनि मलाई लगेनन’ नातीका सन्तानहरुसँग बसेकी रामकली भन्छिन, ‘मैले जीवनभरी अभाव र दुःख मात्रै देखेको छु । सायद भगवानले हाम्रो परीक्षा लिइरहेका रहेछन् ।

तर, धुर्मुस(सुन्तली फाउण्डेसनले सन्तपुरमा नमुना वस्ती निर्माण गरेपछि भने रामकलीलाई आफ्नो परीक्षा सकिएकोे महसुुस भएको छ । बाढीकै बेला राहत लिएर यो बस्तीमा छिरेका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुसहरहरुको विजोग देखेर नमुना वस्ती बसाउने बाचा गरेका थिए ।

रामकली देवी हजरासँगै ४७ गरीब परिवार मंगलबार बाट त्यही सुविधासम्पन्न पक्की घरमा सरेका छन् । धुर्मुस–सुन्तलीले बनाइदिएको दुई तले चिटिक्कको घर देखेर मुसहरहरु मख्ख परेका छन् । वस्तीमा ४७ वटा घर मात्र होइन, मन्दिर, विद्यालय, सामुदायिक भवन, बाल उद्यान, भ्यू टावर लगायतका संरचना छन् ।

चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा बनेको सो बस्ती हेर्नका लागि जिल्ला तथा जिल्ला बाहिरबाट समेत आगन्तुकहरु आउने गरेका छन् ।नयांपत्रिका अनलाईनवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here