१९ माघ

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो ।

प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै सुष्माले बधाइ दिइन् । र, अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई भनिन् ।

सोल्टी होटलमा भएको भेटमा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको उपस्थिति थियो ।

भेटमा मधेसी नेताहरुले आफूहरु निर्वाचनमा गए पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको बताएका थिए । तर, यसमा भारतीय विदेशमन्त्री सुष्मा यो तपाईहरुको आन्तरिक विषय हो भन्दै पन्छिएको राजपाका एक नेताले  बताए ।

सुष्माले मधेसी नेताहरुलाई संविधान संशोधन र वाम सरकारमा सहभागी हुने नहुने तपाईहरुको आन्तरिक विषय हो, तपाईहरु आफ्नो हित सोचेर आफैं निर्णय गर्नुहोस्, यसमा हाम्रो कुनै हस्तक्षेप हुँदैन भन्ने जवाफ दिएकी थिइन् ।

भेटका क्रममा सुष्माले राजनीतिका बारेमा भन्दा पनि मधेसको विकासका एजेण्डाहरुमा छलफल गर्न खोजेकी थिइन् । नेपालको मधेसमा गरिबी र अस्थिरता रह्यो भने त्यसको असर बिहारलगायत भारतीय राज्यमा समेत पर्ने भन्दै उनले मधेसी नेताहरुलाई आर्थिक समृद्धि र विकासमा लाग्न सुझाव दिइन् । उनले अब बन्ने प्रदेश सरकारले मधेसको गरीबी हटाउनुपर्ने बताइन् ।

 

आगामी बन्ने प्रदेश सरकारले बाढी नियन्त्रण लगायतका कोशी, गण्डक आदि प्रोजेक्टहरुमा भारतीय सहयोग प्राप्त गर्न सक्ने सुष्माले आश्वासन दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here