१७ माघ,

काठमाडौं । चन्द्रग्रहण हुनु सामान्य खगोलिय घटना हो । तर, मंगलबार खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलिय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५८ वर्षपछिको दुर्लभ खगोलिय घटना हो ।

धार्मिक मान्यताअनुसार चन्द्रग्रहण लागेको समयलाई राम्रो मानिँदैन । त्यसैले भन्ने गरिन्छ पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन, नांगो आँखाले हेर्नु हुँदैन । त्यतिमात्रै होइन हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ ।

तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता दुर्लभ खगोलिय घटनालाई हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी ( नासो )का अध्यक्ष सुरेश भट्टराई आजको खग्रास चन्द्रग्रहण, सुपर मुन र ब्लुमुनबारे के भन्छन् ? तपाईं पनि पढ्नुहोस्-

आजको चन्द्रग्रहण कहाँबाट कसरी हेर्ने ?

आज साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मूल्य र मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन ।

ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु हुने हुनाले अवलोकन गर्न इच्छुक व्यक्तिहरुले उत्तरपूर्वी दिशामा कुनै अवरोध नभएको स्थानमा बसेर हेरेको खण्डमा चन्द्रोदयको समय अर्थात् साँझ ५ बजेर ३६ मिनेटदेखि नै ग्रहण देख्न सक्नेछन् ।

यसरी सुरु हुने ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हु्ँद राति ८ बजेर ५६ मिनेटमा सकिन्छ ।

आजको चन्द्रग्रहण के कारणले फरक छ ?

आज हुने खग्रास चन्द्रग्रहण र अन्य समयमा हुने खग्रास चन्द्रग्रहणमा फरक छैन । तर आज चन्द्रग्रहणको साथै सुपरमुन र ब्लु-मुन पनि परेको हुनाले विश्वव्यापी चर्चाको विषय बनेको मात्र हो ।

यस्तै खगोलीय घटना १५२ वर्षअघि अर्थात् अघिल्लोपटक सन् १८६६ मार्च ३१ मा भएको थियो ।

सुपरमुनमा पृथ्वी र चन्द्रमा कति दुरीमा हुन्छन् ?

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा वृत्ताकार बाटोबाट नगरी अन्डाकर बाटोमा गर्दछ । यस्तो बाटोबाट परिक्रमा गर्दा चन्द्रमा कहिले पृथ्वीको नजिक आउँछ त कहिले टाढा जान्छ । त्यसैले औंसी वा पूर्णिमाको बेला यसरी नजिक आएको चन्द्रमालाई सुपरमुन भन्ने गरिन्छ ।

ग्रहणको समयमा आज चन्द्रमा पृथ्वीबाट करिब ३ लाख ५८ हजार किलोमिटरको दुरीमा रहनेछ । पृथ्वी र चन्द्रमाको औसत दुरी भने ३ लाख ८४ हजार किलोमिटर हो ।

ब्लु-मुन के हो ?

ग्रेगोरियन पात्रो अनुसार एउटा महिनामा दुईवटा पूर्णिमा परे दोस्रो पूर्णिमालाई ब्लु-मुन भनिन्छ । नेपाली समयअनुसार गत जनवरी २ तारिखमा पूर्णिमा परेको थियो भने जनवरीको अन्तिम दिन आज पनि पूर्णिमा परेको छ ।

अतः विशेषगरी विद्यार्थी तथा शिक्षकहरुले आजको ग्रहणलाई कक्षा कोठामा ग्रहण सम्बन्धि हुने पढाईको प्रयोगात्मक परीक्षाको रुपमा लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here