
१३ माघ
काठमाडौँ । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रवार अपराह्न आयोजित भेटघाट तथा भोज कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएनन् । ओली पोखरामा रेडियो प्रसारक संघको कार्यक्रममा सहभागी हुन गए । स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भए । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए ।
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो ।
समारोहमा राजदूत पुरीले भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै उनले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर छ भने । समारोहमा नयाँदिल्लीस्थित ‘ऋषि’ नामक सांगीतिक समूह र नेपाली सेनाको एउटा टोलीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
शुक्रवारै बिहान भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसमा अवसरमा भारतका राष्ट्रपतिले जारी गरेको सन्देश वाचन गरेका थिए । उनले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गरे।