संजय रेग्मी
माघ १०, २०७४

पर्वत ः हिमाल पारीको जिल्ला मुस्ताङमा यस बर्षकै पहिलो पटक बुधबार हिमपात भएको छ ।

बुधबार रातीबाट सिमसिम पानी परेसंगै चिसो बढ्दा बुधबार बिहानैबाट हिमपात भएको हो । हिउँ पर्ने क्रम बिहान अबेरबाट रोकिएको भएपनि हिउँले जतातजै सेताम्मे बनाएको मुस्ताङबाट महेन्द्र रेग्मीले जानकारी दिए ।

लामो समयको खडेरीपछि भएको हिमपातले मुस्ताङी कृषकहरु पनि हौषिएका छन। हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिचाईँ हुने भएकाले कृषकहरुमा हिमपातले खुसीयाली ल्याएको हो । यद्यपी, हिमपातसंगै बढेको चिसोका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । जसका कारण सर्वसाधारणहरु घर बाहिर निस्केर काम गर्न नसक्ने अवस्थामा पुगेका छन ।

झण्डै एक फिट बाक्लो हिमपातसंगै आएको हुरीबतासका कारण पोखरा जोमसोम हवाई उडान अवरुद्ध भएको छ भने, बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा सवारी साधन बन्द गरिएका छन ।

मनाङमा पनि बाक्लो हिमपात

मुस्ताङपछि अर्को हिमालपारीको जिल्ला मनाङमा पनि बुधबार रातीदेखि नै परेको हिमपातले सबै ठाउँलाई सेताम्मे बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक घनेन्द्रहाङ खाजुमका अनुसार बाक्लो हिउँ परेको कारण सर्वसाधारहणहरु घर बाहिर निस्कन नसक्ने अवस्था भएको छ ।

दिउसो यदाकदा लागेको घामका कारण घाम पर्ने ठाउँको हिउँ केही मात्रामा पग्लिएको भएपनि अन्यत्रको हिउँ भने यथावत रहेको प्रहरी निरीक्षक खाजुमले थाहा संचार नेटवर्कलाई जानकारी दिए ।

दिउसो कतिपय अनलाईनमा हिमपातका कारण १० जना पर्यटकहरु सम्पर्क बिहीन भएको भनी समाचार आएको भएपनि त्यो गलत रहेको पनि मनाङ प्रहरीले जनाएको छ । जिल्लाका बिभिन्न ठाउँमा रहेका प्रहरी बिटहरुबाट सबै ठाउँमा रहेका पर्यटकहरु सुरक्षित र सम्पर्कमा रहेको खबर बुझिएको पनि प्रहरी निरीक्षक खाजुमले जानकारी दिए ।

म्याग्दीका उच्च भागमा पनि हिमपात
यस्तै, म्याग्दीको उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको छ ।
बुधबार रातीको बर्षासंगै जिल्लाको मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कबार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धारा खड्काले जानकारी दिईन ।

जिल्लाको पर्यटकीयस्थल घोरेपानी, पुनहिलमा पनि हिउँले सेताम्मे बनाएको छ ।

दिउसो सामान्य लागेको घामका कारण कतिपय स्थानको हिउँ पग्लिन शुरु गरेको भएपनि धेरैजसो ठाउँको हिउँ भने यथावत नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here