७ माघ

काठमाडौं । सातै प्रदेश सभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी सदरमुकाममा पद तथा गोपनीयताको सपथ लिएका छन्   ।

संविधान र प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई सपथ ग्रहण गराए ।

प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा गोबिन्द सुब्बाले सपथ गराए ।

प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई जेष्ठ नागिरकले सपथ दिलाए । प्रदेश नम्बर २ को प्रदेश सभा सदस्यहरुको सपथ जनकपुर उद्योग वाणिज्य संघको सभागृहमा भएको छ ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसंग जेष्ठ सदस्य लखनलाल चौधरीले सपथ लिएलगत्तै अन्य सदस्यहरुलाइृ सपथ ग्रहण गराए । प्रदेश सांसदहरुले सपथ लिने क्रममा  भाषाको लिपिलाई लिएर विवाद गरेका छन् ।
प्रदेश नम्बर २ का सांसदहरुको सपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा विवाद गरेका हुन् । मातृभाषामा सपथ गर्न पाउने व्यवस्था भएपनि सपथ गरेको हस्ताक्षर बुझाउने लिपि नेपाली भाषामा हुनुपर्ने भनेपछि विवाद भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले उद्घोषणका क्रममा मातृ भाषामा सपथ गर्न सकिने तर देवनागरी लिपिको काजगमा हस्ताक्षर गर्नुपर्ने बताएपछि मधेश केन्द्रित दलका सांसदहरु उत्तेजित भएका थिए ।

प्रदेश नम्बर ३ का सांसदहरुको सपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा गरिएको छ ।
प्रदेश प्रमुख अनुराधा कोइरालासँग जेष्ठ सदस्य दोरमणी पौडेलले  सपथ लिएलगत्तै अन्य सदस्यहरुलाई शपथ गराए । प्रदेश नम्बर ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन ।

प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई सपथ ग्रहण गराए ।
समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहयो । ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्यहरुलाई सपथ दिलाए ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा भएको  छ । प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यहरुको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा भएको छ ।

प्रदेश सभा सदस्य ४० सांसद मध्ये २७ जना काठमाडौँ मै रहेको  र उनीहरुलाई विहान मात्रै सेनाको हेलिकप्टर मार्फत त्यहाँ लगिएकाले ढिलो सपथ ग्रहण गरिएको हो ।

खराब मौसमका कारण धनगढीमा प्रदेश सभा सदस्यको सपथ ग्रहण भने पनि   दिउसो १ बजे मात्रै भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद अधिकारीले जानकारी दिए । जेष्ठ  सदस्य दिब्येश्वरी साहले प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण गराए ।

प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्यहरुको सपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा भएको हो । सपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको अस्थायी मुकाम पुगे ।

माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचन कार्यक्रम को प्रक्रिया आइतबारबाटै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको सपथ सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै सपथ ग्रहणको कार्यक्रम राखिएको हो ।