५ माघ

पर्वत /पर्वतको फलेबास नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा अनिवार्य अंग्रेजी माधयममा पठनपाठन शुरु गर्न शिक्षकलाई एकै पटक तालिम दिन शुरु गरिएको छ ।
आगामी शैक्षिकसत्र देखि सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा अध्यापन शुरु गर्न नगरपालिकाले सबै बिद्यालयका प्राथमिक तहका शिक्षकलाई एकै पटक तालिम दिन शुरु गरेको हो । नगरपालिका भित्रका ५७ सामुदायिक बिद्यालयका १ सय ७० जना बढी शिक्षक तालिममा सहभागी छन ।

फलेबास नगरपालिकाको पहिलो नगरपरिषदबाट सबै सामुदायिक बिद्यालयमा शैक्षिक सुधार गर्ने र बिद्यार्थी संख्या बढाउन अंग्रेजी माध्यममा पठनपाठन गर्ने योजना अनुसार काम अघि बढाइएको नगरप्रमुख पदमपाणी शर्माले बताए ।

फलेबास नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाका ११ वटै वडामा बुधबार देखि एकैपटक तालिम शुरु भएको छ । आगामी शैक्षिक सत्र देखि कम्तीमा पनि कक्षा १ सम्म अंग्रेजी माध्यममा पठनपाठन शुरु गर्ने उद्देश्यले बिद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिन थालिएको हो । माघ ३ देखि शुरु भएको तालिम बैशाख १५ सम्म चल्ने नगरपालिकाका खरिदार पारस पौडेलले जानकारी दिए । शिक्षकहरुले बिहान र बेलुका तालिम लिने र दिउँसो आफुँ कार्यरत बिद्यालयमा पढाउने गरि तालिमको ब्यबस्थापन मिलाइएको छ ।

सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या कम हुने र छोराछोरी पढाउन शहर झर्ने प्रबृत्ति बढेपछि सामुदायिक बिद्यालयलाई नै सुधार गर्ने योजना अनुसार सबै बिद्यालयमा एकै पटक अभियान शुरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मोतीराम सापकोटाले बताए । शिक्षकले अतिरिक्त समयमा तालिम लिने र काज समेत नलिने गरि ब्यबस्थापन गरिएको उनको भनाई छ ।

यस अघि २२ जना माध्यामिक तहका शिक्षकलाई तालिम दिएर प्रशिक्षक तयार गरिएको छ । एउटा वडामा २ जना प्रशिक्षकले वडाभरका सामुदायिक बिद्यालयका प्राथमिक तहका शिक्षकलाई तालिम दिनेछन । शिक्षकले २ सय ३० तालिम लिनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here