२ माघ

ट्राफिक प्रहरी भन्छ, ‘मापसेविरुद्ध कारबाही नगरेको भए दुर्घटना अझै बढ्थ्यो’

उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

मापसे चेकजाँचपछि ७७१ को मृत्यु
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।

ट्राफिक प्रहरी भन्छ–मापसेविरुद्ध कारबाही नगरेको भए संख्या अझै बढ्थ्यो
ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे कारबाही कडाइ नगरेको भए दुर्घटना र मृत्यु हुनेको संख्या अझ बढ्ने दाबी गरे । ‘तथ्यांक विश्लेषण गर्दा सवारी दुर्घटना र मृत्यु हुनेको संख्या बढेको देखिन्छ । सवारीसाधन बढेकाले यस्तो भएको हो,’ उनले भने, ‘विगतमा उपत्यकाभित्र एक ठाउँबाट मात्रै लाइसेन्स लिने चलन थियो । अहिले, चार ठाउँबाट लाइसेन्स लिइन्छ । यसले सवारीसाधनमा सर्वसाधारणको पहुँच बढेको संकेत गर्छ ।’ सवारीसाधन वृद्धिले सीधा असर सडकमा पर्ने उनको भनाइ छ । सडकको अवस्था बिग्रनु र ट्राफिक सिग्नल ठीक नहुनु दुर्घटना बढ्नुको कारण मुख्य कारण रहेको रञ्जितकारले बताए ।

महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनालले पछिल्ला दिनमा सवारी दुर्घटना बढेको स्वीकार गरे । सवारीसाधनको बढ्दो संख्या र सडकको नाजुक अवस्थाका कारण सवारी दुर्घटना बढेको उनले बताए । ‘तथ्यांक विश्लेषण गर्दा सवारी दुर्घटना केही बढेको देखिन्छ । यसका पछि सवारीसाधनको संख्या वृद्धि हुनु र सडकको नाजुक अवस्था हुुनु पनि हो । कतिपय सडक मापदण्डविपरीतका छन् । ट्राफिक लाइटको प्रबन्ध छैन,’ खनालले भने ।

मापसे चेकजाँचपछिको तीन वर्ष दुर्घटना र मृत्यु घट्यो
०६९ सालदेखि ट्राफिक प्रहरीले मापसेविरुद्ध कारबाही सुरु गरेको हो । त्यसभन्दा अघिल्लो वर्ष उपत्यकामा ४९ सय १४ वटा सवारी दुर्घटना भएका थिए । जसमा मृत्यु हुनेको संख्याको एक सय ७१ थियो । मापसेविरुद्ध कारबाही सुरु भएको वर्षमा सवारी दुर्घटना नाटकीय ढंगले घट्यो । मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा घट्यो । यो अवस्था निरन्तर तीन वर्षसम्म चल्यो ।

महाशाखाका अनुसार मापसेविरुद्ध कारबाहीपछिको पहिलो आर्थिक वर्ष ०६९–७० मा उपत्यकाभित्र ४७ सय ७० सवारी दुर्घटना भए, जसमा एक सय ४७ ले ज्यान गुमाए । आव ०७०–७१ मा ४६ सय ७२ सवारी दुर्घटना हुँदा एक सय ४३ ले ज्यान गुमाए । यस्तै, आव ०७१–७२ मा दुर्घटनाको संख्या ४९ सय ९९ पुग्यो, जसमा एक सय ३३ को मृत्यु भयो ।

त्यसपछिको दुई आवमा भने सवारी दुर्घटनासँगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ । आव ०७२–७३ मा ५६ सय ६८ सवारी दुर्घटना हुँदा एक सय ६६ ले ज्यान गुमाए । आव ०७३–७४ मा ५५ सय ३० सवारी दुर्घटना भएका थिए, जसमा एक सय ८२ को मृत्यु भएको थियो । चालू आवको ६ महिनामा उपत्यकाभित्र २८ सय ५७ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ७८ ले ज्यान गुमाइसकेका छन् ।

यी हुन् ‘ब्ल्याक स्पट’
उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ । महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघरी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

मापसे चेकजाँच गर्नुभन्दा अघिल्लो पाँच वर्ष
०६४–६५ – दुर्घटना २२११, मृत्यु १२०
०६५–६६– दुर्घटना २७६५ , मृत्यु १३७
०६६–६७– दुर्घटना ४१०४ , मृत्यु १४६
०६७–६८ दुर्घटना ४९१४, मृत्यु १७१
०६८–६९ दुर्घटना ५०९६ , मृत्यु १४८
जम्मा दुर्घटना १९०९०, मृत्यु हुने ७२२

मापसे चेकजाँचपछिको पाँच वर्ष
६९–७० दुर्घटना ४७७० , मृत्यु १४७
०७०–७१ दुर्घटना ४६७२ मृत्यु १४३
०७१–७२ दुर्घटना ४९९९ , मृत्यु १३३
०७२–७३ दुर्घटना ५६६८ , मृत्यु १६६
०७३–७४ दुर्घटना ५५३० , मृत्यु १८२
जम्मा दुर्घटना २५६३९, मृत्यु हुने ७७१

नयापत्रिका अनलाईन वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here