१ माघ
केहि दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो ।

  • यहि पौष ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा नेपाल बैंक लिमिटेडका विर्तामोड शाखा प्रमुख ४१  बर्षिय उमेशचन्द्र घिमिरेको आइतबार निधन भयो ।

  • केहि समय पहिले मुस्ताङ आएकी दक्षिण कोरियाली नागरिक जुमी आनको मुक्तिनाथ गाविसको होटल बममार्नीको बाथरुममा लडेर मृत्यु भयो ।

  •  गत असोजमा गैँडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षिय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भयो ।

  •  खोटाङको माक्पा–३ बेप्लाका २१ वर्षीय खुसीमान राईकोमलेसियामा बाथरुममा लडेर मृत्यु भयो ।

  • नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बाथरुममा लडेर मृत्यु भयो।

त्यस्तै भारतका चर्चित बाबा राम कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो ।

यी त हुन् प्रतिनिधि उदाहरण । यस्ता दुर्घटनाका समाचार हामी प्राय देखिरहन्छौ अनि सुनिरहन्छौ। तर हाम्रो ध्यान खासै यसमा जान सकेको छैन। ध्यान नदिदा नदिदै वाथरुममा हुने दुर्घटना मृत्युको कारक वन्दै जाँदा यसमा सावधानी अपनाउन जरुरी देखिएको छ।

कसरी हुन्छ वाथरुममा दुर्घटना?

बाथरुम अँध्यारो हुनु, चिप्लो हुनु, साबुन / सेम्फुको चिप्लो रहनु, बाथरुममा पानीको काम पर्नु, बाथरुमको भुइँ चिप्लो हुनु , चप्पल खश्रो सोल भएको प्रयोग नगर्नु, रातिमा अर्धहोशमै बाथरुम जानु …जस्ता दर्जनौं कारणले गर्दा बाथरुममा दुर्घटना बढिरहेको छ ।

वाथरुममा लड्दा के के हुन सक्छ?

बाथरुममा लड्दा मृत्यु हुने प्रमुख कारण हेड इन्जुरी हो भने अपांगता हुने प्रमुख कारण इस्पाइनल इन्जुरी हो । बाथरुममा लड्दा जुन अंगमा ठोकिन्छ, त्यहि अंग र संगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करंग भाँचिने, मेरुदण्ड भाँचिने, हात खुट्टा भाँचिने, शरीरका भित्री अंगमा रगत जम्ने, भित्रि अंगलाई चोट पुग्ने, गर्भवतीको गर्भपतन हुने लगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नु पर्दछ ।

कसरी घटाउने वाथरुममा हुने दुर्घटना ?

तसर्थ बाथरुमलाई सफा, ओसिलो, खस्रो तथा कारणबश लडेमा कम क्षति हुने प्रकारको बनाउनु, खस्रो सोल भएको चप्पल प्रयोग गर्ने, प्रकाशको पर्याप्त व्यवस्था गर्ने, साबुन/सेम्फुको चिप्लो नराख्ने, भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने , सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने,चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्माको प्रयोग गर्ने, राति उठेर केहि मिनेट बसेपछि अर्थात पूर्ण होसमा आएपछि मात्र बाथरुममा जाने जस्ता धेरै उपाय गर्नु जरुरी छ। यो उपेक्षित गरिएको तर सबैतिर भइरहेको ठूलो स्वास्थ्य समस्या हो । बाथरुम सुरक्षा चेतना हामीले नफैलाए कसले फैलाउने ?

[रविन्द्र पाण्डे जनस्वास्थ्य विशेषज्ञ हुन् । उनी साहित्यमा रविन्द्र समीरका नामले चिनिन्छन् । ]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here