पुष २६, २०७४

पर्वत : छैटौं म्याग्दी महोत्सव नजिकिँदै जाँदा म्याग्दी सदरमुकाम बेनी बजारलाई बेहुली झैँ सिगारिएको छ।

यही पुसको २८ गतेदेखि शुरु हुने म्याग्दी महोत्सव माघे सङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला–२०७४ को अवसरमा तोरण र ब्यानरहरुले बजार क्षेत्रलाई झकीझकाउ गर्ने काम भैरहेको हो।

सदरमुकामको खुल्ला मञ्चमा सञ्चालन हुन लागिरहेको महोत्सवको लगभग सबै तयारीहरु पूरा भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिनसम्म चल्ने छ। महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुँदै आएका कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शन गरिने छ। कृषि, पर्यटन र जलविद्युतलाई जोड दिइएको महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने छन।

झण्डै ६ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवको आर्थिक सहयोग, प्रचारप्रसार, स्टल, खेलकुद प्रतियोगिता, टिकट बिक्री, मञ्च व्यवस्थापन, ऐतिहासिक फोटो प्रर्दशनी, बजार सज्जा लगायतका कामहरु पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै मूल संयोजक मूल कर्माचार्यले भने, ‘कृषि, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना रहेको म्याग्दीमा महोत्सव मार्फत बजारीकरण र लगानीको वातावरण बनाउन सहज होस भन्ने उद्धेश्य राखेका छौँ।’

महोत्सवका आकर्षणमा कालीगण्डकी नदीमा ¥याफ्टिङ र घोडसवारी सहित लोकदोहोरी गीत प्रतियोगिता, झाँकी, भेषभूषा, साँस्कृतिक कार्यक्रम सहित राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती रहने छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here