संजय रेग्मी
पुष २५, २०७४
पर्वत : भौतिक संरचना निर्माणमा प्रयोग गरिने क्रसर उद्योगहरुबाट उत्पादित सामग्रीहरुको अभाव भएपछि कास्की, पर्वत बागलुङमा संचालित राष्ट्रिय गौरबका आयोजनाहरुको काम प्रभावित भएको छ । नदीजन्य पदार्थको उत्खनन नहुँदा आयोजनाहरुका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा, कंक्रिट लगायतका सामग्रीहरु अपुग भएका कारण द्रुत गतिमा निर्माणाधिन आयोजनाहरुमा असर परेको हो ।
निर्माणाधिन मध्यपहाडी लोकमार्गमा कार्यरत ईन्जिनियर अनिल सिलवालका अनुसार क्रसर उद्योगबाट आयोजनाका लागि खरीद गरिने सामग्री अभावका साथै सिमेन्ट, रड लगायतका सामग्रीमा चरम मूल्य बृद्धि भएका कारण आयोजनाहरुमा ठूलो असर परेको छ । सरकारले चुरे क्षेत्रको संरक्षणको लागि भन्दै नदीजन्य पदार्थको उत्खननमा स्काभेटरको प्रयोग नगरी मानिसले नै निकाल्नुपर्ने प्राबधान राखेको छ । तर, यसरी कामदार लगाएर सबै आयोजनाका लागि आवश्यक कच्चा पदार्थ पूरा गर्न नसकिने क्रसर व्यवसायीहरुको गुनासो छ । श्री दक्षिणामकाली क्रसर उद्योग, पर्वतका प्रबन्ध निर्देशक बिप्लब हमालका अनुसार आयोजना बाहेक जिल्लामा निर्माणाधिन सरकारी देखि नीजि भवन निर्माणमा पनि सामग्री पु¥याउन सकिएको छैन । यदि वातावरणीय रुपमा गलत प्रभाव नपर्ने गरी उत्खनन गर्ने ब्यबस्था भएमा निर्माण सामाग्री पु¥याउन सहज बनाउन सकिन्छ । उनले भने, ‘बर्षा याममा नदीबाट उत्खनन गरेको सामग्री बिक्री भैसकेको र हिउँदामा पानीको सतह घटेपछि स्काभेटर प्रयोग गरेर निकाल्न नसकिएका कारण यस्तो समस्या आएको छ ।’ यस्तै, ईन्जिनियर सिलवाल भन्छन, ‘चुरे र पहाडी क्षेत्रको लागि एउटै मापदण्ड बनाएर कसरी काम गर्न सकिन्छ ? त्यसमाथि मूल्य बृद्धि अनि दोहोरो तेहेरो करले काम गर्नै नसकिने अवस्था सिर्जना हुन लागेको छ ।’
सामग्री अभावका कारण तीब्बत र भारतलाई जोड्ने कालीगण्डकी करिडोर, मध्य पहाडी लोकमार्ग, राष्ट्रिय प्रशारणमा लाईनमा जोडिन लागेको कालीगण्डकी प्रसारण करिडोर, मध्य मोदी जलविद्युत, तल्लो मोदी जलविद्युत, राहुघाट जलबिद्युत लगायतका थुप्रै आयोजनामा समस्या उत्पन्न भएको आयोजना प्रमुख तथा ईन्जिनियरहरुको भनाई छ ।
सामग्रीकै अभावमा यस क्षेत्रमा संचालित आयोजनामा समस्या भएको भन्दै उक्त आयोजनाहरुले सम्बन्धित निकायमा कच्चा पदार्थको व्यवस्थापनको लागि आवश्यक सहयोग गरिदिन भन्दै निवेदन समेत पेश गरेका छन । कालीगण्डकी करिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका प्रोपाईटर ओम गौचन भन्छन, ‘पुल ढलानका लागि बालुवा र गिट्टी नपाएपछि सोचे अनुसार काम गर्न नै सकिएको छैन । अब पुलको काम कसरी गर्ने ? भन्नेमा नै अन्योल भएको छ ।’ निर्माणको अन्तिम चरणमा रहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाका अनुसार सामग्रीकै अभावमा सुरुङ्ग निर्माण कार्य प्रभाबित बनेको छ ।
यता जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी. पौडेलले कतिपय कानुनी अड्चनका कारण नै यस्तो समस्या आएको बताएका छन । एक हप्ता भित्रमा सामान अभाव हुन नदीन आवश्यक प्रक्रिया पूरा गरिने बताउँदै उनले भने, ‘हामीलाई धेरै गुनासो आएको छ । चुरे क्षेत्र संरक्षणको कानुनको प्रभाव यहां पनि परेको हो । एक हप्ता भित्रमा हामीले केही न केही निर्णय गरेर सामग्रीको अभावलाई टार्ने योजनाको तयारी भैरहेको छ । नदीमा ईन्जिनियर राखेर प्रत्यक्ष निगरानीमा कच्चा पदार्थ निकाल्ने हो भने प्रकृतिमा असर पनि हुने छैन, अभाव पनि टर्ने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here