२३ पुष

धादिङ- घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन्। चिसो बढेसँगै बिरामी परे पनि त्यसको परवाह नगरी उनीहरु खाद्यान्न जुटाउन व्यस्त हुने गरेका छन्।

यसैबीच दुई दिन लगाएर दुर्गम गाउँ पुगी सरकारी टोलीले निरीक्षण गरेको छ। सरकारी टोलीसमक्ष गाउँवासीले खानेपानी, शिक्षा, खाद्य अधिकार, स्वास्थ्यलगायतको विषय उठाएका थिए। चेपाङ महिलाहरुले पनि आफ्नो कुरा राखेका थिए।

‘दस महिनामा पाक्ने खोरियाको मकैले तीन महिनाभन्दा बढी खान पुग्दैन। विद्यालय नभएकाले प्राथमिक तह उत्तीर्ण गरेका मानिस गाउँमा कोही छैनन्’, समस्या नै समस्या भएकाले गाउँवासीका लागि काम गरिदिन सूर्यमाया चेपाङले कुरा राखेपछि सरकारी टोली नै गम्भीर भएको थियो।

२२ वर्षीया सुक्रिमाया चेपाङका तीन सन्तान छन्। सानो बच्चा १७ महिनाको भयो। अर्को बच्चा पाउने बेला भएको छ। सानो नानी बोकेर घाँस दाउरा गर्नु, कन्दमूल खोज्नु र सिस्नु टिपेर गुजारा गर्नु उनको नियमित दिनचर्या हो। आठ महिनाको गर्भवतीले पोषिलो खानेकुराका साथै आइरन चक्की खानुपर्ने, भारी बोक्न र धेरै हिँड्न नहुने, स्वास्थ्य संस्था गएर बेलाबेला जाँच गराइरहनुपर्ने भनेर आम नेपालीलाई स्वास्थ्यकर्मीले भन्दै आए पनि गुजाराको समस्या खेपिरहेका ब्रुसबाङका महिलालाई यी कुरा एकादेशको कथा जस्तै छ।

‘गाउँमा खानेकुरा नै छैन, सिस्नुको खोले नभए त मरिन्छ नि’, सुक्रिमाया भन्छिन्। गाउँमा उनीसहित तीन जना गभर्वती छन्।

घरमा दुई डोको जति मकै छ। खोरियामा मकै पाक्न १० महिना लाग्छ। गाउँमा स्वास्थ्य चौकी नभएकाले गाउँबाट कोही गभर्वतीले पनि जाँच गराउँदैनन्। स्वास्थ्य चौकी गइहाले पनि औषधि किनेर खानुपर्ने भन्ने सुनेकाले नगएको उनीहरुको भनाइ छ।

सुक्रिमाया मात्र होइन, ब्रुसबाङका सबैको घरमा खानेकुरा छैन। उनीहरुले सिस्नु टिपेर खोले खान्छन्। सधैं खोले खाएर तागत नै नआउने र बिरामी भएको जस्तो हुने गरेको प्रेममाया चेपाङले गुनासो गरे।

धादिङ र चितवनको सीमा क्षेत्रमा रहेको ब्रुसबाङ महाभारत शृंखलाको एउटा चुचुरो डाँडामा रहेकाले यो गाउँ सबै किसिमको सुविधा र अवसरबाट वञ्चित रहेको यहाँका वृद्ध ७८ वर्षीय टेकबहादुर चेपाङको भनाइ छ।

खानेपानीको समस्याले गाउँवासीले लामो समयदेखि नुहाउन नपाएको धेरैको गुनासो छ। खानेपानीका लागि समेत दुई घन्टा टाढा चितवनतर्फ पुगेर एक भाँडो पानी ल्याउँदा दिन बित्ने उनीहरु बताउँछन्।

गाउँ पुगेको सरकारी टोलीमा जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी नायव उपरीक्षक रामबहादुर केसी लगायतले गाउँवासीको समस्या दर्दनाक रहेको जिल्ला सदरमुकाम फर्केपछि बताए।

सरकारले धादिङमा जिल्ला विकास समितिमार्फत ०३६ सालदेखि चेपाङ विकास कार्यक्रम सञ्चालन गरे पनि ब्रुसबाङमा यो कार्यक्रमको कुनै प्रभाव नपरेको गाउँ पुगेको सरकारी टोलीका नेता जगन्नाथ नेपालले बताए।

गाउँवासीले पनि विभिन्न संघसंस्थाले गरेको भनेको कार्यक्रम गाउँसम्म नै नआई फर्किने गरेको गुनासो गरेका छन्।

ब्रुसबाङ गाउँलाई स्थानान्तरण गर्न माग भएपछि गाउँको जग्गा चेपाङकै हुनेगरी साविकको महादेवस्थान गाविसको ताल्ती क्षेत्रमा बस्ती सार्न पहल सुरु भएको जिल्ला समन्वय समितिका संयोजक नेपालले बताए। गाउँ सारेपछि विभिन्न निकायको सहकार्यमा घर निर्माण गरी हस्तान्तरण गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतको आधारभूत आवश्यकता पूरा गर्ने, सीप सिकाइ उनीहरुलाई आत्मनिर्भर बनाउने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here