२३ पुष
काठमाडौं,चुनावको परिणाम पछि काँग्रेसको नेतृत्व संक्रमणकालिन नेतृत्वमा परिणत भएको डा मिनेद्र रिजालको भनाइ छ। यो संक्रमणको अन्त्य कहिले हुने हो अहिले नै एकिन गर्न नसकेपनि एक डेढ बर्षभन्दा वढी जानै नसक्ने उनले बताए।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजना अब संक्रमणकालिन नेता भइसकेको उल्लेख गर्दै रिजालले अब उहाँहरु दुवैजनाको सहज वहिर्गमन गरेर संक्रमण अन्त्य गर्नुपर्ने बताए।
सभापति देउवा र वरिष्ठ नेता पौडेलले पार्टीलाई दिनुपर्ने जति दिइसक्नुभएको उनले बताए। उनले अगाडी थपे, ‘ उहाँहरुलाई अरु जति दिन नेतृत्वमा राखिन्छ त्यति संक्रमण अझ वढ्छ। ‘
दुई नेताको विषयमा रिजालले एक कथाको प्रसङग समेत जोडे। विभिन्न कारणले सम्पति गुमाएको एक वृद्ध व्यक्तिले आफ्नो जीवनको उत्तरार्द्धतिर फेरि कमाउँछु अनि पहिलाकै जति सम्पति पारेर सन्तानलाई हस्तान्तरण गर्छु भनेको झै अहिले काँग्रेसको अवस्था भएको उनले तुलना गरे। अब पनि उनै बृद्ध व्यक्तिले झै आफै कमाएर पुरानै मात्राको सम्पति झै पुरानै स्वरुपको पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्ने सोच काँग्रेसको नेतृत्वमा छ भने त्यो गलत हुने रिजालले बताए । उनले भने, ‘ वृद्ध व्यक्ति झै अब जति दिन अहिलेको नेतृत्व बस्नुहुन्छ त्यति पार्टीलाई फाइदा गर्दैन। वृद्ध ब्यक्तिले छोरा छोरीलाई हस्तान्तरण गरेर सम्पति बचाउने र विस्तारको लागि बाटो खोले झै काँग्रेस नेतृत्वले पनि अब नयाँ पुस्तालाई बाटो खोल्नुपर्ने उनको तर्क थियो।