२२ पुष

काठमाडाै‌ं । आफ्नो अनुकुल ठाउँमा प्रदेशको राजधानी बनाउनै पर्ने माग सहित ४ नम्बर बाहेकका प्रदेशमा आन्दोलन चल्दै छ । प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने हल्लासँगै धनकुटा र धरान आन्दोलित छन् । प्रदेश २ को राजधानी जनकपुर तोक्ने तयारीसँगै विरगञ्ज आन्दोलित छ ।

प्रदेश नम्बर ३ को राजधानी दाबी गर्दै हेटौडा र काभ्रे समेत तात्तिएका छन् । प्रदेश ५ मा बुटवल र दाङबीच हानाथाप छ । प्रदेश ६ मा सुर्खेत र जुम्लाको रस्साकस्सी चलिरहँदा प्रदेश नम्बर ७ को राजधानी धनगढी बनाउने हल्लाले दिपायल आक्रोशमा छ ।

सरकारका केही मन्त्रीहरु नै यतिबेला आफ्नो दायित्व विर्सेर आफ्नो क्षेत्रमा प्रदेशको राजधानी बनाउने अन्दोलनको नेतृत्व गर्दैछन् । पार्टीभित्रकै नेताहरु विभाजित छन् । जन आक्रोश नजिकबाट नियालीरहेका पार्टी नेताहरु सकेसम्म अपजसमा पर्न चाहँदैनन् । पन्छिन खोज्दैछन्।

त्यसैको एउटा कडी थियो, गएकाे बिहीबार बसेकाे बालुवाटार बैठकमा एमाले र माओवादी केन्द्र नेताहरु राजधानी तोक्ने विषयमा छिर्न नचाहनु । एमाले माओवादी केन्द्रका नेताहरुले प्रदेश राजधानी तोक्ने काम आफैं गरोस् भनेर तर्किपछि, सरकार बिलखबन्दमा पर्‍यो । शुक्रबार मात्रै बसेको मन्त्री परिषद बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने अनुमान  थियो ।

तर, सरकारले एमाले र माओबादी केन्द्रलाई काउन्टर दिने गरी प्रदेशको अस्थायी राजधानी तोक्ने काममा हात नहाल्ने निधो गर्‍यो । कारण देखायाे, ‘दलीय सहमति जुट्न सकेन ।’ वाणिज्य मन्त्री मीन विश्वकर्माको सपाट जवाफ छ, ‘तत्काल अस्थायी राजधानी तोक्दा मुलुकका विभिन्न स्थानमा आन्दोलन चर्किने र सत्ता हस्तान्तरणमा पनि समस्या पर्ने देखियो ।’

एमाले उपाध्यक्ष भीम रावल प्रदेशको राजधानी नतोक्ने वर्तमान सरकारको निर्णयलाई प्रक्रिया लम्ब्याउने र सरकारमा टिकिरहने दाउसँगै जोड्छन् ।  उनी भन्छन्, ‘प्रदेशको अस्थायी राजधानी तोक्ने कर्तव्य यही सरकारको हो, सरकार पन्छियो भने कर्तव्य च्यूत, स्वेच्छाचारी, अलोकतान्त्रित र मूर्खतापूर्ण काम हुन्छ ।’ सँगै उनकाे प्रश्न छ, ‘हाम्रो सरकार भएको भए पो हाम्रो जिम्मा हुन्छ, सरकारमा आफु बस्ने अनि अर्काको थाप्लोमा हाल्ने त्यस्तो मूर्खता पूर्ण कुरा हुन्छ र ?’ जसरी भए पनि यही सरकारले गर्नै पर्छ अरु थाहा छैन । कुरा सीधा छ, वर्तमान सरकारले अस्थायी राजधानी तोक्न सकेन भने र यदि एमालेकै नेतृत्वमा सरकार बन्यो भने पनि, प्रदेशको राजधानी तोक्न फलामको चिउरा चपाउनु सरह हुने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here