१९ पुष

काठमाडौं । निर्वाचन आयोगले कांग्रेससहित ६ दललाई प्रदेशसभाको समानुपातिकतर्फ विजयी घोषणा गर्न पठाएका नाम त्रुटीपूर्ण भएको भनेको छ । र, तीन दिनभित्र सूची सच्याएर पठाउन पत्र पठाएको छ ।

यससँगै कसको नाम काटिने हो र कसको थपिने हो भन्ने चासो बढेको छ । प्रदेशसभा सदस्यमा सिफारिस भइसकेकाहरुलाई आफ्नो नाम काटिने त होइन भन्ने परेको छ भने नपरेकाहरुलाई मेरो पालो आउँछ त भन्ने चासो बढेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार कांग्रेसको प्रदेश ३, ४, ६ र ७ को नाममा कुनै हेरफेर हुने छैन । कांग्रेसले ती प्रदेशहरुमा आफूले पाएको सिटमा प्रदेशसभा सदस्यमा विजयी घोषणा गर्न सिफारिस भएकाहरु सेफ जोनमा छन् ।

तर, प्रदेश १, २ र ५ को सिफारिस भने समावेशी समूह र प्राथमिकता क्रम नमिलेको भेटिएको छ ।

प्रदेश १ मा कांग्रेसले १३ सिट पाएको छ । जसमा बन्द सूचीमा रहेका नामबाट क्रमअनुसार ६ जनजाति, ४ खसआर्य र थारु, दलित र मधेसी १-१ जना पठाउनु पर्ने थियो । र, यसरी पठाएको नाममा अल्पसंख्यक समुदायबाट दुई जना हुनुपर्छ ।

तर, कांग्रेसले पठाएको नाममा समावेशी समूह र प्राथमिकता क्रम नमिलेको भेटिएको छ ।

कांग्रेसले खसआर्यको महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता पौडेललाई छुटाएको छ भने दोस्रो र तेस्रो नम्बरमा रहेका विन्दीया कार्की र सीतादेवी पौडेलको नाम पठाएको छ ।

प्रदेश २ मा कांग्रेसले समानुपातिकतर्फ ११ सिट पाएको छ । जसअनुसार उसले मधेसी ६, दलित २ र जनजाति, थारु र मुस्लिम एकएक जना पठाउनुपर्छ । साथै यसरी पठाएका मध्ये ३ जना अल्पसंख्यक समुदायको हुनु पर्ने थियो ।

तर, कांग्रेसले मुस्लिम २ जना शेष खसीद अली र सलामा खताुनलाई प्रदेशसभा सदस्य बनाउन सिफारिस गरेको छ भने जनजातिबाट कोही परेनन् ।

कांग्रेसले प्रदेश ५ मा १२ सिट पाएको छ । उसले खसआर्य ३, जनजाति, थारु, दलित, मधेसी २-२ र मुस्लिम एक जना पठाउनु पर्ने थियो, जसमा एक जना अल्पसंख्यक हुनुपर्छ ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार ७२ जना प्रदेशसभा सदस्य मध्ये तीन जना मात्र नमिलेको हो । यद्यपि कसको नाम काट्ने र थप्ने भन्ने खुलाएको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here