संजय रेग्मी
पुष १७, २०७४

पर्वत : सडक दुर्घटनालाई नियन्त्रण गर्नका लागि पोखरा–बागलुङ (भूपी शेरचन) राजमार्ग अन्तरर्गत पर्वत खण्डमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षा चुनौती देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङले जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा नयाँपुल–मालढुंगा र मालढुंगा–बेनी गरी पर्वत खण्डमा २० ओटा जडान गरिएको थियो । तर, अपरिचित व्यक्तिहरुले रातको समयमा कुनै ऐना चोरी गरेको पाइएको छ भने कुनै ऐना फुटाईएका छन । सडकमा गाडिएका ऐना मध्ये १ ओटा चोरी भएको छ भने २ ओटा फुटाईको छ । झण्डै साढे ५ लाख रुपैयाँको लागानीमा राखिएका उक्त ऐना तोडफोड गर्ने र चोरी गर्नेहरुको खोजी भैरहेको भएपनि अहिलेसम्म कोही पनि पक्राउ नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी जवान सुदीप कुमार सापकोटाले जानकारी दिए । उनले भने, “सडक दुर्घटना कम गरी नागरिकलाई नै सुरक्षित बनाउन भनेर राखिएका ऐना फुटाउनेलाई के भन्ने ? रातीको समयमा यस्तो भएको अनुमान छ । हामीले निगरानी गरिरहेको भएपनि अहिलेसम्म कोही पक्राउ परेको छैन । त्यो ऐनाले त फुटाउने र चोरी गर्नेहरुकै पनि त सुरक्षा गरेको थियो नी ।” उता सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले लाखौंको लगानीमा नागरिकका लागि राखिएका ऐना फुटाउनेको खोजी गर्न प्रहरीलाई विशेष अनुरोध गरिएको जानकारी दिए । सडकमा उक्त ऐनाहरु राखिएपछि पर्वतको राजमार्गमा हुने गरेका साना ठूला दुर्घटनामा उल्लेख्य कमी आएको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here