१७ पुस

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत डेढ सय जनाले जागिरबाट हात धुनु परेको छ । काम नगरी तलब, भत्ता मात्र बुझ्दै आएको जनशक्तिलाई पाखा लगाइएको विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार जागिरबाट हटाइएका अधिकांश अधिकृतभन्दा तल्लो तहका छन् । १/२ पटक ‘टास्क’ दिएर काममा चित्तबुझ्दो परिणाम हात नलागेपछि उनीहरुको राजिनामा मागिएको ती अधिकारीले जानकारी दिए । कतिपयलाई भने अनुशासनको कारवाहीसमेत गरिएको थियो ।

बिदा भएकामध्येका केही भने ३० वर्षे सेवाअवधि र उमेरको हदका कारण पनि अनिवार्य अवकाशमा परेका हुन् । ३० वर्षे लाग्नेहरु ०४४ सालमा उक्त विभागमा असई (अनुसन्धान सहायक), निरीक्षक (अनुसन्धान अधिकृत) मा भर्ना भएकाहरु छन् ।

३० वर्षे सेवाअवधिको प्रावधान कायमै रहे ०७६ सालमा करिब तीन सय जनाले एकसाथ अवकाश पाउने छन् । ती सबै ०४६ सालमा असई र निरीक्षकमा भर्ना भएका कर्मचारी हुन् ।

मुलुकको एक मात्र गुप्तचर निकाय र राष्ट्रिय सुरक्षाको मुख्य अंग भइकन पनि लामो समयदेखि राजनीतिक हस्तक्षेपको शिकार बन्दै आएको छ, उक्त विभाग । जागिरबाट हटाइएका अधिकांश कर्मचारी विभिन्न समयका सरकार र गृहमन्त्रीहरुले भर्ना गरेकाहरु परेका छन् ।

यसअघि विभागले त्यस्ता कर्मचारीहरुलाई पन्छाउन ‘गोल्डेन ह्यान्डसेक’को नीति अगाडि सारेको थियो । ‘तर, त्यसबाट समस्या समाधान हुने नदेखेपछि अर्को बाटो रोजिएको हो,’ ती अधिकारीले भने ।

उनका अनुसार ‘गोल्डेन ह्यान्डसेक’मा जाँदा केही वर्षको तलब, भत्ता अग्रिम दिनुपर्ने र उनीहरुको ठाउँमा अर्को व्यक्तिलाई भर्ना लिनु पर्दा व्ययभार अझ बढ्ने देखिएपछि ‘टास्किङ’ र ‘गुडबाई’को नीति लिइएको हो ।