काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत ८ गतेदेखि एसईईको नयाँ परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशिका परीक्षा (एसएलसी)को अन्त्य भई ०७२ सालदेखि एसईईको नतिजा ग्रेडको आधारमा प्रकाशित गर्न थालिएको छ । ग्रेडिङ प्रणालीमा आउन थालेको दुई वर्षमै उच्च जीपीएमा उत्तीर्ण हुने विद्यार्थीको संख्या भने खस्कँदो छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७२ सालको एसईई परीक्षामा ४ लाख ५६ हजार १ सय ३६ जना विद्यार्थीले परीक्षा फारम भरे पनि ४ लाख ३७ हजार ३ सय २६ जनामात्रै परीक्षामा सामेल भएका थिए । यसैगरी ०७३ मा ४ लाख ४५ हजार ५ सय ६४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

०७२ सालमा भन्दा ०७३ सालमा एसईई परीक्षा दिने विद्यार्थीको संख्या ८ हजार २ सय ३८ जना बढेको देखिन्छ । तर, जीपीए ३.६ देखि ४.० सम्मको उच्च तहमा उत्तीर्ण हुने विद्यार्थीको संख्या भने ४ हजार १ सय ७० जनाले कमी आएको देखिन्छ ।

पनिकाका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ०७२ मा ४ लाख ३७ हजार ३ सय २६ जना नियमित विद्यार्थीमध्ये एसईईमा ३.६ देखि ४.० सम्मको उच्च जीपीए ल्याउने विद्यार्थाी संख्या १६ हजार ४ सय ५४ रहेका थिए भने ३.२ देखि ३.६ सम्म उच्च जीपीए ल्याउने ४१ हजार ५ सय ७७ रहेको थियो ।

यसैगरी ०७३ मा रेगुलरतर्फको ४ लाख ४५ हजार ५ सय ६४ जना परीक्षामा सहभागी विद्यार्थीमध्ये ३.६ देखि ४.० जीपीए ल्याउनेको संख्या १२ हजार २ सय ८४ मात्रै रहेको छ । ३.२ देखि ३.६ सम्म जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ छन् ।

शिक्षा मन्त्रालयको एक प्रतिवेदनअनुसार ०७२ को भूकम्पका कारण विद्यालयहरु क्षतिग्रस्त भएका कारण पठनपाठनमा नकारात्मक असर पर्न गएकाले विद्यार्थीको सिकाइ उपलब्धीमा कमी आएको हो । नाकाबन्दी र मधेश आन्दोलनका क्रममा महिनाैंसम्म विद्यालय बन्द भई पठनपाठनमा नकारात्मक असर परेकाले पनि विद्यार्थीको सिकाइ उपलब्धीमा ह्रास आएको मन्त्रालयले उल्लेख रहेको छ ।

शिक्षा विभागले समेत विद्यार्थीको उत्तीर्ण स्तर खस्किनुमा भूकम्प र बन्द–हड्ताल नै प्रमुख कारक रहेको बताएको छ । यस वर्ष भने कक्षा सञ्चालनमा धेरै समस्या नभएकाले एसईईको नतिजामा सुधार आउने सम्भावना रहेको विभागले बताएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको केन्द्रीय बालकल्याण समितिले ०६४ सालमा गरेको एक अध्ययनअनुसार कक्षा ५ र ८ मा सिकाइ उपलब्धिमा देखिएको घट्दो गुणस्तरजस्तै एसईईको उच्चतम क्षेणी ल्याउनेको गुणस्तर पनि खस्केको देखिएको छ । समितिका कार्यकारी निर्देशक तारक धितालले समग्र रुपमा एसईईमा जीपीए बढाउनको लागि विद्यालयस्तरीय शिक्षामा गुणस्तर बढाउन प्रयास गर्नुपर्ने देखिएको बताए ।

जीपीएअनुसारको अंक मूल्यांकन

पनिकाका नियन्त्रक रेग्मीका अनुसार जीपीए भनेको विद्यार्थीको मूल्यांकन स्तरीकरणको सांख्यिक मान हो । विभिन्न ९ ग्रेडिङमा एसईईको परिणाम सार्वजनिक हुन्छ । ९०—१०० सम्म ए प्लस (३.६ देखि ४.०), ८०—९० सम्म ए (३.२ देखि ३.६), ७०—८० सम्म बी प्लस (२.८ देखि ३.२), ६०—७० सम्म (२.४ देखि २.८) बी, ५०—६० सम्म सी प्लस (२.० देखि २.४), ४०—५० सम्म सी (१.६ देखि २.०), ३०—४० सम्म डी प्लस (१.२ देखि १.६), २०—३० सम्म डी  ०.८ देखि १.२) र १०—२० सम्म ई ग्रेड (०.० देखि ०.८) भनेर छुट्याइएको छ ।
विज्ञान, मानविकी, शिक्षा, कानुन संकायको जुनसुकै विषय पढ्न अंग्रेजी, नेपाली, सामाजिकमा भने डी प्लस ल्याउनैपर्ने हुन्छ ।

०७३ सालको एसइईमामा २.८५ देखि ३.२० सम्म जीपीए ल्याउन ५० हजार ६ सय ४६ जना सफल भएका छन् भने जीपिए २.४५ देखि २. ८० सम्म ६१ हजार ९ सय ५५ जनाले ल्याएका छन् । ०.८५ देखि १.२० सम्म ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।

भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए ल्याउनुपर्ने हुन्छ भने मानविकी, व्यवस्थापन, शिक्षा अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याउनुपर्ने हुन्छ ।

कुन विषय पढ्न कति जीपीए ?

विज्ञान अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ( ५०—६०) प्रतिशत ल्याएकै हुनुपर्छ । त्यसैगरी नेपाली, अंग्रेजी र सामाजिक विषयमा समेत डी प्लस अर्थात् (३०—४०) प्रतिशत ल्याएको विद्यार्थीले मात्रै विज्ञान संकाय पढ्न पाउनेछन् ।
व्यवस्थापन विषय अध्ययन गर्न १.६ जीपीए अनिवार्य ल्याएको हुनुपर्छ । विषयगत ग्रेडमा भने अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस अर्थात् ३०—४० प्रतिशत अनिवार्य ल्याउनुपर्ने हुन्छ ।

त्यसैगरी मानविकी संकायमा अध्ययन गर्न १.६ जीपीए ल्याउनुपर्नेहुन्छ भने अनिवार्य तीन सय पूर्णांकको नेपाली, अग्रेजी, सामाजिकमा डी प्लस ल्याएको हुनुपर्छ ।
शिक्षा पढ्न अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याएको हुनुपर्छ भने शिक्षा संकाय अन्तर्गत विज्ञान विषय अध्ययन गर्न विज्ञान र गणितमा डी प्लस ल्याएको हुनुपर्छ ।

प्राविधिकतर्फ अध्ययन गर्न गणित, विज्ञान र अंग्रेजीमा सी ग्रेड ४० देखि ५० प्रतिशत अंक ल्याएको हुनुपर्छ । सीटीईभीटीले सम्बन्धन लिएका शैक्षिक संस्थानमा स्वास्थय विषय अध्ययन गर्न २.० जीपीए सहित अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने हुन्छ ।

त्यसैगरी इन्जिनियरिङ विषय अध्ययन गर्न गणित र विज्ञानमा सी अर्थात् ४० देखि ५० प्रतिशत र अंग्रेजीमा डी प्लस आएको हुनुपर्छ ।

गत वर्ष गरिएको निर्णयअनुसार १.६ जीपीए ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् तर, निश्चित विषयमा ग्रेड पुर्याएको हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here