९ पुष

लिबाङ :  रोल्पाका तीन गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने विषयको विवाद चर्किएको छ । सुवर्णावती गाउँपालिकाले युद्धको समयमा मारिएका पूर्व माओवादी कमाण्डर स्व. किमबहादुर थापा ‘सुनिल’ को नामबाट नामाकरण गर्ने प्रस्ताव ल्याएपछि जनप्रतिनिधिमै विवाद वढेको छ ।

माओवादी पार्टीबाट विजयी अध्यक्ष सहितका प्रतिनिधि सुवर्णावती गाउँपालिका नामको ऐतिहासिक अर्थ नभएको भन्दै सुनिल गाउँपालिका राख्ने पक्षमा उभिएका छन । उनीहरुले जनयुद्धका शहिदको सम्मान गर्नुपर्ने प्रस्ताव राखेका छन् । नेपाली कांग्रेसबाट विजयी वनेका प्रतिनिधिले भने शुक्रबार सम्पन्न गाउँपालिकाको वैठकमा नाम परिवर्तन गर्ने प्रस्तावमा नोट अफ डिसेन्ट लेखेका छन् ।

‘सबैको साझा हित हुने नाम छोडेर युद्धमा मारिएका व्यक्तिकोे नामबाट गाउँपालिकाको नामाकरण गर्नु गलत हुन्छ ।’ वडाध्यक्ष गञ्ज क्षेत्री भन्छन्, ‘सुवर्णावती गाउँपालिकामा मात्र कैयौं मारिएका छन् । एक जनाको नाममा गाउँपालिकाको नाम राख्ने कुरा मान्य हुँदैन ।’ सहमतिमा नाम फेर्नका लागि गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले छलफल गर्ने बताए ।

स्थानीय तहको पहिलो बैठकबाट ६ महिना भित्र आवश्यक ठानिएमा गाउँपालिकाको नाम र केन्द्र बहुमतले फेर्न मिल्ने प्रावधान छ । सुकिदह गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णयले पनि आन्दोलनको रुप लिएको छ ।

सुकिदह नाम हटाएर गंगादेव गाउँपालिका नामाकरण गरेपछि स्थानीयले कार्यालयमा तालाबन्दी गरे । एकसाता अघिदेखि गाउँपालिकाको नाम सुकिदह नै हुनुपर्ने र साविक सुखाओढार केन्द्र हुनुपर्ने स्थानीयको माग छ । सुखाओढारमा स्थान अभाव भएकाले सानडाँडामा केन्द्र सार्ने निर्णयमा पनि स्थानीय आन्दोलन समिति गठन गरेर विरोधमा उत्रिए ।

केही महिना अघि दुईखोली गाउँपालिकाले पनि युद्धमा मारिएका लडाकु नेपबहादुर वली ‘परिवर्तन’ को नाममा गाउँपालिकाको नामाकरण गर्ने छलफल अघि वढाएको थियो । त्रिवेणी गाउँपालिकामा भने केन्द्र सार्ने मागले विवाद चर्कदै गएको छ ।

पुस १४ गते गाउँपालिकाको पहिलो बैठकको ६ महिना पुग्ने भएकाले नुवागाउँ, करेटी र गैरीगाउँका स्थानीयले गाउँपालिकाको केन्द्र त्रिवेणीमा सार्ने निर्णय गर्न गाउँपालिकाका जनप्रतिनिधिलाई दबाब दिँदै आएका छन् । स्थानीय तहको केन्द्र निर्धारण सिफारिसका बेला समेत त्रिवेणी र जुगार केन्द्र बनाउनेबारे चर्को विवाद भएको थियो । करेटी, नुवागाउँ र गैरीगाउँले जुगारमा केन्द्र अपायक हुने भन्दै त्रिवेणीमा सार्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here