७ पुस,

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् । एक हप्ताभित्र केन्द्रीय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान संकलन गर्न बाध्य हुने चेतावनीसमेत दिए ।

नेपाल प्रेस युनियनले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले प्रतिनिधि र प्रदेशसभामा पार्टीले भोगेको पराजयको समिक्षा गर्न, राष्ट्रिसभा गठन विवादमा आधिकारिक धारणा बनाउन र आगामी दिनमा महासमितिको बैठक बसाउन पनि तत्काल केन्द्रीय समिति बैठक बस्नुपर्ने बताए ।

उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको सांगठनिक संरचना बनाउनुपर्ने जोड दिए । डा कोइरालाले कांग्रेसलाई बलियो बनाउने भए अब पार्टीको संगठन टोल-टोलसम्म पुर्‍याउनुपर्ने धारणा राखे ।

पार्टीभित्रैबाट अन्तर्घात भएको कारण आफू निर्वाचनमा पराजित भएको बताउँदै उनले भने, ‘कार्यकर्ताको नाममा अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने अवस्था आएको छ, त्यसका लागि पार्टीको केन्द्रीय तहपनि सक्रिय हुनुपर्छ ।’

पत्रकारहरुसंगको कुराकानीमा डा कोइरालालले नेपाली कांग्रेसले पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको संगठनलाई सुदृढ बनाउन केन्द्रित हुने स्पष्ट पारे ।

पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले आफू राजनीतिक मान्छे भएकाले इच्छा राख्नु स्वभाविक भएको जवाफ दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here