६ पुष

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा छिटो समझदारीमा पुग्ने गरी अग्रसरता लिन वाम गठबन्धनका दुई प्रमुख नेताको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रपतिनिवासमा बुधबार भेटवार्ताका लागि पुगेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भण्डारीले सहमति खोज्न आग्रह गरेकी हुन् ।

‘अहिले प्रतिपक्षमा भए पनि भोलि सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, त्यसैले तपाईंहरूले पनि अध्यादेशबारे छलफल गरेर समझदारी जुटाउन पहल गर्नुहोस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँहरूले पनि त्यस निम्ति लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

भेटवार्तामा एमाले नेता सुवास नेम्वाङ तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । नेम्वाङले अध्यादेशप्रति असहमति राख्नुको कारण राष्ट्रपतिलाई प्रस्टसँग जानकारी गराएको बताए ।

सहमतिविपरीतको अध्यादेश अस्वीकार्य – ओली

अध्यादेश जुनसुकै वेला ल्याउन मिल्दैन । हामीले २–३ महिनाअघिदेखि नै छिटो विधेयक ल्याउन जोड गर्‍यौँ । विधेयक पेस भएपछि राज्य–व्यवस्था समितिमा बहुमतीय प्रणालीबाट गठन गर्ने गरी समझदारी भएको थियो ।

तर, ठीक उल्टो व्यवस्था हुने गरी अध्यादेश पठाइएछ । कस्तो पठाइयो हामी (प्रतिपक्ष) लाई अहिलेसम्म औपचारिक जानकारी छैन, कुनै परामर्श पनि गरिएन । कमसेकम प्रतिपक्षसँग पनि बसेर समझदारीमा गरेको भए हुन्थ्यो ।

अहिलेको एकल संक्रमणीय प्रणालीबाट दलित र अल्पसंख्यकको १–१ सिटको प्रतिनिधित्व कसरी सुनिश्चित हुन सक्छ ? हामीले बुझेका छैनौँ । सरकार परिवर्तन हुने वेला संविधानविपरीत ल्याउन खोजिएको अध्यादेश हामीलाई स्वीकार्य छैन ।

सहमतिका लागि प्रयास गर्छौँ – प्रचण्ड

प्रधानमन्त्रीले छलफल नै नगरी अध्यादेश पठाएका कारण कमजोरी भएको छ । अहिले पनि छलफलबाट समाधान खोज्न सकिन्छ । मैले पनि उहाँलाई सरकारले बेठीक तरिकाबाट अध्यादेश पठाएकाले एकपटक बसेर समझदारी गर्नुपर्ने कुरा गरेको छु ।

तर, उहाँले अहिलेसम्म पहल लिनुभएन । हाम्रोतर्फबाट समझदारी खोज्नका लागि थप प्रयास हुनेछ । (नयाँ पत्रिका दैनिक)