लगत्तै, प्रहरी वृत्त महाराजगञ्जका डीएसपी योगगन्द्रसिंह थापासहितको प्रहरी टोली त्यहाँ पुग्यो ।
घटनामा जंगल छेऊ घाँस काट्दै गरेकी ३५ वर्षीय दुर्गा दुलाल घाइते भइन् । शिवपुरी वन्यजन्तु आरक्षण केन्द्र नजिकबाट गोली चल्दा उनी घाइते भएकी थिइन् ।
महिला घाइते भएको सुइँको पाए लगत्तै गोली चलाउने समूह घटनास्थलबाट भागेको थियो । प्रहरीको प्रारम्भीक अनुसन्धानले जंगलमा मृगको शिकार गर्न गएको समूहले गोली चलाएको तर महिलालाई लागेको देखिएको छ ।
घटना लगत्तै गोली प्रहार गर्ने समूहको खोजीमा प्रहरी परिचालन भयो । महानगरीय प्रहरी परिसर, महानगर नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगञ्जको टोलीले जंगलको चारै तिरबाट घेरा हाल्यो ।
र, गोली चलाउने व्यक्तिको खोजी गर्यो । अन्ततः झण्डै डेढ घण्टापछि जंगलको एक कुनामा लुकिछिपी बसिरहेको अवस्थामा चार जना युवक पक्राउ परे ।
पक्राउ पर्नेमा टोखा १ का २० वर्षीय सुनिल तामाङ, १७ वर्षीय सुसान तामाङ, १८ वर्षीय विजय तामाङ र १४ वर्षीय अंकित तामाङ छन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको एक थान घरेलु भरूवा बन्दुक समेत बरामद भएको छ ।
गोली प्रहारबाट घाइते भएकी दुर्गाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उनलाई कोखामा गोली लागेको थियो ।