५ पुष
वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी नियन्त्रण र थप उद्धारको प्रयास हुन सकेको छैन ।
बिहान ६ बजेदेखि आगो लागे पनि आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको दमकल नै जलेपछि थप दमकल जान सकेको छैन ।
दुई जनाको शव भेटिए पनि दमकलमा रहेका दुई जना अझै बेपत्ता छन् । केहीको पहिल्यै उद्धार भए पनि त्यसपछि भने सुरक्षाकर्मी अगाडि बढ्न सकेको छैन ।
भारतको बिहारबाटसमेत आएका दमकलहरु अगाडि जाने हिम्मत गर्न सकेका छैनन् ।
ग्यास सिलिन्डर निरन्तर पड्किरहेको छ । त्यहाँ रहेको प्लान्टमा आगलागी भएका खण्डमा वीरगञ्ज वरिपरिको पाँच किलोमिटर क्षेत्रमा रहेका हजारौं स्थानीयलाई खतरा हुन सक्ने औंल्याइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरु कसरी अगाडि बढ्ने भनी योजना बनाइरहे पनि प्लान्टमा आगलागी भए कसैको बच्ने मौका नहुने त्रास हुँदा अगाडि बढ्न सकेका छैनन् ।
सुरक्षाकर्मीले अगाडि बढ्न जनशक्ति भए पनि केमिकलका बारेमा अध्ययन नभएकाले अगाडि बढ्नै नसकिएको बताएका छन् ।
उद्योगका कोही पनि आधिकारिक व्यक्तिले उद्योगको भौतिक पूर्वाधारबारे जानकारी नदिएकाले सुरक्षाकर्मी अगाडि बढ्न नसकेको हो ।
कतिजनाको ज्यान गयो भन्नेसमेत यकिन हुन सकेको छैन ।
उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागीका कारण बस्ती छाडेर स्थानीय सुरक्षित स्थलतर्फ लागेका छन् ।
सुरक्षाकर्मीेले स्थानीयलाई सुरक्षित स्थलमा पुग्न मद्धत गरेका छन् ।
उनीहरुलाई झण्डै पाँच किलोमिटरसम्म टाढा जान आग्रह समेत गरिएको छ ।
प्लान्ट विष्फोट भए वीरगञ्जनै खतरामा पर्ने समेत बताइएको छ ।