५ पुष

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टी राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य जितेका रेशमलाल चौधरीको आरोपपत्र लगायत विवरण मागेको छ । टीकापुर घटनामा संलग्न भन्दै सरकारले जिल्ला अदालत कैलालीमा रेशमविरुद्ध मुद्दा दर्ता गरेको छ ।

प्रहरीले रेशमलाई फरार सूचीमा राखेको छ । वारेसनामामार्फत उम्मेदवारी दिएर विजयी भएका उनले आफुलाई विजयी भएको प्रमाणपत्र नदिएपछि वारेसनामामार्फत सर्वोच्चमा रिट दर्ता गराए । सुरुमा सर्वोच्चले रिट दर्ता गर्न मानेको थिएन । सर्वोच्च प्रशासनले रेशमको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो ।

दरपीठविरुद्ध उनले फेरी निवेदन दिए । फेरि दिएको रिट निवेदनमा मुद्दाको छिटो सुनुवाई गर्न र आफूलाई साधारण तारेखमा छोड्ने आदेशको माग गरेका छन् । त्यही निवेदनमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले जिल्ला अदालत कैलालीबाट चौधरीको आरोपपत्र र अन्य अभिलेख झिकाएको हो ।

‘मलाई डर छ उक्त मुद्दाको पुर्पक्षको सिलसिलामा म कैलाली जिल्ला अदालतमा उपस्थित भएँ भने अदालतले मलाई पनि अनिश्चित समयको लागि न्यायिक हिरासतमा पठाउने छ र त्यसो भएमा  कैलाली क्षेत्र नम्बर १ को मतदाताले मबाट गरेको नेतृत्वको आशा र भरोसामा कुठाराघात हुनेछ,’ उनले रिटमा भनेका छन्, ‘म जनताबाट निर्वा्चित प्रतिनिधि भएकोले अब म जनताबाट विमुख रहने र भाग्ने कुरा सम्भव छैन । यदि कैलाली जिल्ला अदालतले मलाई साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गरेमा म जुनै बेला पनि आफूलाई लागेको हत्याको आरोपमा आफ्नो कुरा राख्न र आफ्नो निर्दो्षिताको प्रमाण प्रस्तुत गर्न तयार छु ।’

रेशमले निष्पक्ष सुनुवाईको माग गरेका छन् । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा मधेसवादी पार्टीहरूले गरेको आन्दोलनका क्रममा भएको दंगामा एक बालकसहित आठ प्रहरीको हत्या भएको थियो । भारतमा रहेका चौधरीले आफू घटनामा संलग्न नभएको र  शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै आएका छन् ।

रेशमले अगाडि भनेका छन्, ‘म शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने एक राजनीतिककर्मी हुँ र म मेरो राजनीतिक लक्ष्य प्राप्तिमा हिंसालाई अवलम्बन गर्ने कुरा सोच्न पनि सक्दिन ।  तर,  मलाई राज्यले २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषीको रूपमाआरोप लगाएर कैलालीमा विना कुनै आधार र प्रमाण मेरो नाम अभियोगपत्रमा समावेश गरेको छ । जस कारण विगत दुई वर्षदेखि दरदर भट्किरहेको छु । अझ सोही घटनामा मेरो सबै जायजेथा, एफएम तथा घर सुरक्षाकर्मीको उपस्थितिमा एक झुण्ड हुलले जलाएर सखाप पारेको कुरा विभिन्न प्रतिवेदनहरूले देखाइसकेको अवस्था छ ।’

उनले कैलाली घटनाका जिम्मेवार व्यक्तिले सजाय पाउनुपर्ने पनि रिट निवेदनमा भनेका छन् । रिटमा, ‘त्यो घटनामा जिम्मेवार व्यक्तिले निश्चय पनि  सजाय पाउनु पर्दछ तर, त्यो घटनाको नाममा निर्दोष व्यक्तिहरूलाई फसाउनु हुँदैन’ पनि भनिएको छ । उनले आफ्ना दुई मुख्य प्रतिस्पर्धीलाई पछि पार्दै ३४ हजार ३ सय ४१ मत ल्याई निर्वाचित भए । चुनवी प्रचारपनि उनले आफ्नी पत्नीमार्फत गराएका थिए । उनले सामाजिक सञ्जालमार्फत मतदातालाई सम्बोधन गरेको भिडियो पठाएर गाउँ–गाउँमा प्रोजेक्टरमार्फत देखाउन लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here