२ पुष
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणामा ढिलाइ भएको छ । आयोगको लक्ष्य अनुसार गणनाले गति लिन नसकेपछि परिणाम घोषणामा केही बिलम्ब भएको हो ।
समानुपातिकतर्फ अब सर्लाहीको १ क्षेत्रको मात्रै गणना बाँकी छ । आयोगका अनुसार, चिसोका कारण शनिबार रोकिएको यहाँको गणना आइतबार बिहानैदेखि सुरू भएकाे छ ।
प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको आयोगले सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
मतगणनाको पछिल्लो परिणाममा एमालेलाई ४५ हजार १०५ मतको अन्तर मिलेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ७३ हजार ४९४ मत हासिल गर्दा नेपाली कांग्रेस ३१ लाख २८ हजार ३८९ मतका साथ उसलाई पछ्याइरहेको छ । नेकपा (माओवादी केन्द्र) को पक्षमा हालसम्म १३ लाख ३ हजार ७२१ मत परेको छ ।
समानुपातिकतर्फकाे गणनामा सुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललार्इ पछि पारेकाे संघीय समाजवादी फाेरम नेपाल गणना अन्तिम चरणमा अाइपुग्दा पछि परेकाे छ । अन्तिम परिणाममा राजपा ४ लाख ७२ हजार २५४ मत बटुल्न सफल भएकाे छ भने संघीय समाजवादी फोरमकाे पक्षमा ४ लाख ७० हजार २०१ मत परेकाे छ ।
विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।
दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।