मंसिर १७, २०७४ काठमाडौं : शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ। कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको छ। आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेश गरेका हुन्। शिक्षाक्षेत्रका विज्ञहरूले समेत विषयगत लाइसेन्स दिने विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्। एकभन्दा बढी विषयमा लाइसेन्स लिन चाहनेलाई समेत उपलब्ध गराउन सक्ने गरी तयारी गरेको हो। आयोगले शिक्षकलाई अहिलेसम्म तहगत मात्र लाइसेन्स दिने गरेको छ। आयोगका अनुसार तहगत रूपमा लाइसेन्स दिँदा विषयवस्तुमा राम्रो ज्ञान भएका शिक्षक कम आउने गरेका छन्। ‘शिक्षाको गुणस्तरीयताका लागि शिक्षकलाई विषयको किटान गरेर लाइसेन्स दिनुपर्ने अवस्था छ, निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स दिनुपर्छ भन्नेमा लागेका छौँ,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने। विषयगत लाइसेन्स दिने विषयमा छलफल सुरु भइसकेको र थप छलफल गरेर यस विषयमा आयोगले निर्णय गर्ने उनको भनाइ छ। लाइसेन्स दिँदा प्रत्येक पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्नेसमेत व्यवस्था गर्न लागेको आयोगले जनाएको छ। शिक्षा ऐनको आठौं संशोधनबाट कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरिएको छ। प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहमा विभाजन गरिएको छ। कक्षा ११ र १२ का लागि सरकारले केही शिक्षकको दरबन्दी र अनुदान दिने गरेको छ। कक्षा १ देखि ५ सम्म एउटै व्यक्तिले धेरै विषय पढाउन सके पनि त्योभन्दा माथिल्लो कक्षामा एउटै व्यक्तिले धेरै विषय पढाउन नसक्ने अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here