९ मंसीर

भरतपुर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताएका छन् ।

वाइसीएल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नम्बर ३ को संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो भनेका हुन् । उनले भने, ‘नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा पर्‍यो। धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् ।  तर, मनमोहन, म र केपी जीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं। हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरे र रेकर्ड बनाए।

७० वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको छ, दहालले भने, ‘हामीले नै देशको जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ। अनि, विकास र समृद्धिको नेतृत्व लिन सकिन्छ। अहिले त्यही संकल्पका साथ हामी एकतावद्द भएका छौं।’

पुत्रशोकमा रहेका दाहालले उपभोक्तावादी संस्कृतिको प्रदुषणबाट ग्रसित बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने तत्वबाट सचेत रहन युवाहरुलाई आग्रह गरे । भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेद्वार कृष्णभक्त पोखरेल, माओवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसियलका अध्यक्ष दीपशिखा लगायतले सम्बोधन गरे । गएको आइतबार दाहालका छोरा प्रकाशको आकस्मिक हृदयघातले निधन भएपछि उनले मञ्चमा उभिएर भाषण गरेका थिएनन् । दाहाल अब चुनावी अभियानमा लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here