८ मंसीर

नेपाल प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका करिब ३ सय ७६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विरोधी गतिविधि तथा विस्फोट र आगजनीमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले पक्राउ परेका व्यक्तिहरु निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेकोले नियन्त्रणमा लिइएको बताए । प्रवक्ता न्यौपानेले आरोपित विरुद्ध विस्फोटक पदार्थ ऐन, हातहतियार तथा खरखजाना ऐन, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध ऐन लगायत कसूरमा देशभरका प्रहरी कार्यालयहरुमा अनुसन्धान जारी रहेको बताए ।
कतिपय विस्फोटमा दलका नेता-कार्यकर्ता तथा सर्वसाधारण घाइतेभएपनि मानवीय क्षति भने भएको छैन । विप्लवले आफ्ना कर्यकर्तालाई चुनाव विथोल्ने क्रममा नेता तथा कार्यकर्तामाथी भौतिक कारबाही गर्न लिखित परिपत्र गरेपछि सेना र प्रहरी उक्त समूह नियन्त्रणमा सक्रिय भएको हो ।
“पक्राउ परेका अधिकांश निर्वाचन विरोधी तथा कानुनले वर्जित गरेका गतिविधिमा संलग्न छन्,” प्रवक्ता न्यौपानेले भने, “कतिपय स्थानमा उम्मेदवार तथा सार्वसाधारणको ज्यान समेत लिने मनसायले विस्फोट गराइएको देखिन्छ ।”
सुरक्षा निकायहरुको सावधानी र सतर्कताका कारण अहिलेसम्म चुनाव विरोधी समूहका हर्कतबाट मानवीय क्षती हुन नपाएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको विशेष व्यूरोले समेत विप्लव माओवादीमाथी निगरानी बढाउँदै उनीहरुले प्रयोग गरेका हातहतियार तथा विस्फोटक पदार्थ कहाँबाट ल्याए भन्नेबारे समेत अनुसनधान गरिरहेको छ ।
भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा समेत व्यूरोको टोली विप्लवका गतिविधि निगरानीमा खटिएको छ ।
यसैबीच, एमाले भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाका बाबु माणिक लामालाई चिनिया व्यक्तिसँग हतियार डिल गरेको अभियोगमा विशेष व्यूरोले गतसाता मात्रै पक्राउ गरेको छ । यो विषयलाई व्यूरोले गम्भीर रुपमा लिएको स्रोतले जानकारी दियो ।
पछिल्लो ३ साताको अवधिमा विप्लव समूहले देशका ४८ स्थानमा बम विस्फोट र आगजनी गराएको छ । नुवाकोट, रोल्पा, रुकुम, रौतहट, भोजपुर, ओखलढुंगा, संखुवासभा लगायत जिल्लामा विप्लवका कार्यकर्ताले चुनाव प्रचारप्रसारमा संलग्न नेता-कार्यकर्ताहरुलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।
नेपाली सेनाका प्रवक्ता नैनराज दाहालका अनुसार पछिल्लो ३ साताको अवधिमा २५ स्थानमा राखिएका बम निष्क्रिय पारिएको छ ।
“पछिल्लो तथ्यांक अनुसार हामीले निर्वाचन विरोधी गतिविधि गर्ने अभिप्रायले राखिएका २५ स्थनको बम निस्कृय पारिदिएका छौं,” प्रवक्ता दाहालले भने, “निर्वाचन निस्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गराउनु हाम्रो मूख्य लक्ष हो, यसक्रममा हुने जुनसुकै गैरकानुनी गतिविधिमा संलग्नलाई सुरक्षाफौजले नियन्त्रणमा लिने छ ।”
प्रवक्ता दाहालका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ वटै जिल्लाका हरेक मतदानकेन्द्रमा सैनिक फौज परिचालन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here