फाइल तस्बिर

डा. शेखर कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । र, उनी प्रतिनिधि सभातर्फ मोरङ क्षेत्र नम्बर ६ बाट उमेदवार बनेका छन् । र, उनका प्रतिस्पर्धी छन्, एमाले पोलिट्व्युरो सदस्य लालबाबु पण्डित । 

यसअघि दुई पटक सांसद भएर मोरङको विकास निर्माणको अगुवाइ गरेका कोइराला चुनाव जित्नेमा ढुक्क देखिन्छन् । तथापि जनताको घरदैलो र कोणसभाका माध्यमबाट लोकतान्त्रिक गठबन्धनको औचित्यका सन्दर्भमा प्रकाश पारिरहेका छन् । विराटनगर पुगेर बाह्रखरीकर्मी अक्षर काका र शिवनारायण गिरीले कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावी घरदैलो र कोणसभामा हुनुहुन्छ, जनताको अपेक्षा के पाउनुभयो ?

जनताले कसरी हेरेका छन् भने, हाम्रो विकास कसरी हुन्छ ? फेरि उनीहरूलाई छिट्टै चाहिएको छ, आजै, भोलि नै होस् भन्ने छ, हरेक कुरा । हामीले गर्न कोसिस नगरेको पनि होइन, तर सम्भव छैन । जनतालाई बुझाउन पनि सकिएको छैन ।

चारवर्ष पहिले संविधानसभाको निर्वाचनका बेलामा हामीले ढल हाल्ने बाचा गरेका थियौँ । चार वर्षमा जम्मै विराटनगरमा ढल कहाँ हालिसकिन्छ त ? कम्तिमा दश वर्ष लाग्छ । तर, जनताले बुझ्दैनन् । आफ्नो घरदैलोमा आजै आओस् भन्नेछ ।  जनताले अहिले पनि खोजिरहेको भनेको विकास र रोजगारी नै हो ।

विराटनगरमा लोकतान्त्रिक गठबन्धनको अवस्था कस्तो छ ?

यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धन धेरै अगाडि छ । यसमा शंका गर्नुपर्ने आवश्यकता म देख्दिनँ ।

त्यसको आधार के हो ?

यस क्षेत्रमा कहिले पनि कम्युनिष्टले जितेको छैन । दोस्रो पनि भएको छैन । तेस्रो चौथो मात्रै भएको छ । दोस्रो कुरा, अहिलेको स्थानीय निर्वाचनमा पनि कांग्रेस पहिलो भएको छ यहाँ ।

मेयरमा नेपाली कांग्रेसले जितेको छ । उपमेयर पनि हामीले नै जितेका छौँ । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसमेत यसमा सामेल भइसकेको छ ।

यो क्षेत्रमा बूढीगंगा गाउँपालिका पनि मिसिएको छ । जहाँ विजय गच्छदारको पार्टी विजयी भएको हो । र, सुन्दर हरैँचाको ६ वटामध्ये पाँच वटा वडा पनि नेपाली कांग्रेसले नै जितेको छ ।

मेयर, उपमेयरसमेत हाम्रै छ । तीनवटै ठाउँमा हाम्रो जित भएको छ, भर्खरैको नतिजा हो यो । जित्नेमा निश्चिन्त छौँ हामी । तर, घरचाहिँ बस्दैनौँ, खटिइरहेका छौँ, जनताको घरदैलोमा पुगेकै छौं ।

विराटनगरमा अविकासको अवस्था छ, अस्तव्यस्त छ, त्यो तपाईंहरू पनि स्वीकार्नुहुन्छ, यो दूरवस्थाको दोषी को ?

विराटनगरलाई हेर्ने दृष्टिकोण फरक छ । अहिले होइन, राजाको पालादेखि, पञ्चायती व्यवस्थादेखि नै यसलाई बेग्लै नजरले हेरिन्छ । त्यो दृष्टिकोणमा परिवर्तन आएको मलाई लागेको छ्रैन ।

म दुई पटक सांसद्मा निर्वाचित भएँ । तेस्रोपटक उमेदवारी दिएको छु । हामीहरूले कोसिस गर्दा पनि, हाम्रै अर्थमन्त्री हुँदा पनि विराटनगरलाई विशेष आर्थिक क्षेत्र (सेज) बनाइदिनूहोस् भन्दा पनि उहाँहरूले गर्दै गर्नुभएन । नेपाली कांग्रेसको अर्थमन्त्री हुँदा पनि त्यो भएन ।

त्यसको कारण के होला ? 

कसैको दबदबामा बस्ने भूमि होइन विराटनगर । स्थानीय तहको निर्वाचन भयो, मेयरमा योङ, डाइनामिक मानिस आउनुभएको छ, भीम पराजुली ।

विराटनगरको विकासको नेतृत्व उहाँले गर्नुहुन्छ । हामी पनि लाग्छौँ । हिजो विकासका धेरै कुरा गर्न पाइएन, संविधान निर्माणमा लाग्नुपर्यो । तर, अब लडेर, भीडेर, सेजलगायतका कुराहरू अगाडि बढाउँछौँ ।

यहाँले कम्युनिस्टले जिते भने एकदलीय तानाशाही व्यवस्था लाद्छन् । निरंकुशता हाबी हुन्छ भन्नुभयो, कम्युनिस्टहरू संविधानमा व्यवस्था गरिएकै पद्दतिबाट चुनावमा भाग लिँदैछन्, लोकतन्त्रमा कम्युनिस्ट अधिनायकवादको खतरा रहन्छ  र ?

तपाईंहरूले नै त्यसरी लिनुभएको छ, मैले छैन । १० वर्ष पहिले प्रचण्डजी पहिलोपटक प्रधानमन्त्री हुनुभयो, त्यो बेला उहाँले पशुपतिको भट्टलाई हटाउनुभयो, सातदिन पछि फिर्ता लिनुभयो ।

त्यसको केही दिनपछि सेनाको सीएनसी (कमान्डर इन चिफ) लाई हटाउने निष्कर्षमा पुग्नुभयो । त्यो दुस्प्रयास गर्ने बेलामा उहाँले मलाई बोलाउनुभयो । र, मैले लामो अन्तरंग छलफल उहाँसँग गरेँ ।

छलफलमा उहाँले ‘यो सेनापति राजावादी हो । रुकमांगत कटवाललाई हटाउनुपर्छ शेखरजी, यसलाई सफल पार्न नेपाली कांग्रेसले मद्दत गर्नुप¥यो । तपाईंले गिरिजाबाबुलाई सम्झाइदिनुपर्यो’ भन्नुभयो ।

मैले भनेँ, ‘मलाई त भन्नुभयो ।  गिरिजाबाबुलाई त मैले भन्नैपर्छ यो कुरा अब । अरूलाईचाहिँ यो कुरा नभन्नूहोस् ।’ गिरिजाबाबुको उत्तर पनि भन्दिन्छु, अहिल्यै, ‘नो !’ हुँदैन अहिले । किनभने एउटामात्र निकाय छ, अराजनीतिक ।

त्यसपछि उहाँहरूको व्यवहारप्रति शंका लाग्यो । भनेँ, ‘तपाईंहरूले कस्तो व्यवस्था खोजेको ? अन्तरिक संविधानमा त संसदीय व्यवस्था छ’ भन्दा उहाँले भन्नुभयो, ‘एकदलीय शासन व्यवस्था !’ फेरि नजाने जस्तोगरि सोधेँ, ‘कस्तो एकदलीय ?’

प्रत्युत्तरमा उहाँले भन्नुभयो, ‘चीनको जस्तो व्यवस्था !’

ठाडै ।  त्यसपछि मैले पुनः सोधेँ, ‘कस्तो हो चीनको जस्तो व्यवस्था ?’

उहाँले एउटै कम्युनिस्ट पार्टी छ त्यहाँ । कम्युनिस्ट पार्टीले भनेको मानिसमात्रै चुनाव लड्न पाउँछ । प्रचण्डले हाकाहाकी फलानो पार्टीलाई उठ्न दिन्छौँ, फलानालाई दिन्नौँ भन्नुभयो ।

मलाई आश्चर्य लाग्यो । यो त बहुदलीय व्यवस्थाको खिलाफ भएन र ? प्रचण्डको अनुहारको भाव बदलिएको थिएन । भन्नुभयो, ‘हामीले खोजेको त्यही हो, तर दुई तिहाई आएन ।’

त्यसपछि केके घटनाक्रम भए तपाईंलाई थाहै छ ।

एमाले र प्रचण्डजीको साँठगाँठ हुनेताका पुनः भेट्न आउनुभयो । बीचबीचमा भेट नभएको भने थिएन । उहाँलाई अप्ठ्यारो परेको बेलामा भेट्न आउनुहुन्छ ।
त्यो भेटमा चाहिँ उहाँले ‘एमालेले हामीलाई ४० प्रतिशत दिँदैछ, के गर्ने म त अन्यौलमा पो परेँ’ भन्नुभयो ।

मैले भनेँ, ‘प्रचण्डजी ४० प्रतिशत पाउनुभएछ, जानूहोस् । नेपाली कांग्रेसको काँधमा बोझ थियो, हट्यो । तपाईंहरूले नेपाली कांग्रेसका त्यत्रा मानिसहरू मार्दा पनि सहेरै तपाईंहरूलाई बोकेर हिँड्यौँ । हामी खुसी छौँ ।’

मैले यो पनि भनेँ, ‘चुनाव कसले जित्छ, कसले हार्छ, अलग कुरा । तर, देशले हार्नुभएन । तपाईंहरू एमालेसँग मिलेर जानुहोस्, हामी ४० प्रतिशत होइन, ३० प्रतिशत पनि होइन, ८–१० जनालाई जिताइदिन्छौँ । त्यो भन्दा बढी केही पनि गर्दैनौँ ।’

त्यसपछि उहाँको अनुहारको भाव बदलीयो । र भन्नुभयो, ‘तपाईंले त अलि बढी नै भन्नुभयो ।’

मेरो जवाफ थियो, ‘एमालेसँग जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने व्यक्ति त रहन्छ । तर, तपाईंको पहिचानचाहिँ मेटिएर जान्छ । कांग्रेससँग बस्नुभयो भने सानै पार्टी किन नहोस् पहिचान रहन्छ । एमालेसँग मिल्दा गुम्छ । निर्णय गर्ने जिम्माचाहिँ तपाईंकै ।’

एमाले र माओवादी केन्द्रले ७ बुँदेको ड्राफ्ट बनाएर अनुमोदन गरिसकेपछि पुनः भेट्नुभयो । त्यसभन्दा अघि ९ बुँदा थियो । जसमा दुवै पार्टीका उमेदवार एउटै सूर्य चिह्नमा चुनाव लड्ने, अर्को, दुवै पार्टी एकीकरण गर्ने र एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी बनाउन र हामीहरू साम्यवादी व्यवस्थामा जाने । पछि के मिलेन हटाए । यी घटनाक्रम सम्झनुहोस् ।

त्यसपछि मैले भने उहाँलाई, ‘प्रचण्डजी तपाईं आजसम्म नेपाली कांग्रेससँग साँठगाँठ गरेर बाँचिरहनुभएको छ । नेपाली कांग्रेससँग साँठगाँठ गरेर हिँडेर, लोकतान्त्रिक पद्दतिमा बढ्दै हुनुहुन्छ । र, तपाईंलाई अन्तर्राष्ट्रिय समुदायले विश्वास गरिरहेको छ । जुन दिन एमालेसँग मिल्न जानुहुन्छ । त्यो दिन तपाईंलाई हतकडी लगाउँछन् ।’

उहाँको प्रश्न थियो, ‘किन ?’

मैले भने, ‘केपी ओली प्रधानमन्त्री भएका बेला तपाईं अस्ट्रेलिया किन जान सक्नुभएन ?’

उहाँले ‘त्यो त हो’ भन्नुभयो ।

चुनावका बेलामा ओलीजीले दमकमा ‘संसदीय व्यवस्था निर्विकल्प होइन, यो परिवर्तन गर्न सक्छौँ’ भन्नुभयो । त्यो भनेको राष्ट्रपतीय प्रणालीमा पनि जान सक्छौँ भनेको त होनी । प्रचण्डजीले दश वर्षअघि भनेको सम्झनूहोस्, बीचका घटनाक्रम नियाल्नुस् र अहिले दुवै पार्टीका अध्यक्षका भाषण सुन्नुहोस्, मेल खाँदैन ?

मैले प्रचण्डजीलाई पटकपटक यो पनि भनेको छु–

नेपाल दुई ठूलाबीचको देशका छ । एकातिर लोकतान्त्रिक मुलुक छ । अर्कोतिर कम्युनिस्ट मुलुक छ । तिनीहरूका विकासका आफ्नै चासो होलान् नेपालमा । नेपालका सामरिक, सुरक्षाको चासो पनि होला नेपालमा ।

तर, तपाईं दुईवटा पार्टी मिलेपछि अन्य सात समुद्रपारिका मुलुकले ठूल्ठूला आँखाले हेरिरहेका छन् । यो सबैकुरा नियाल्दा नेपाल कतै अप्ठ्यारोतिर त जाँदैछैन भन्ने शंका गर्न सकिन्छ ।

फेरि उहाँहरूले हुँकार गर्दै हुनुहुन्छ– दुई तिहाइ ल्याएर संविधान संशोधन गर्छौं । हिजै पनि चिकित्सा शिक्षा ऐन र त्यस्तै ऐन खारेज गर्छौं भन्नुभयो । त्यो भन्दा दुस्प्रयास अर्को के हुन्छ ?

एमाले त लोकतान्त्रिक प्रक्रियामा आएको उहिल्यै हो त ?

एमाले पनि त्यही हो । तपाईंहरूमा भ्रम छ । एमालेको लक्ष्य एकतन्त्रीय शासन निर्माण गर्ने नै हो । मौका पो नपाएको । माओवादी केन्द्रसँग मिल्दा इच्छा बलियो भएको छ, उसको । र त, केपी ओली भन्दैहुनुहुन्छ– बहुदलीय व्यवस्था निर्विकल्पीय होइन ।

०१५ सालदेखि ०५६ सालसम्म कांग्रेसले बहुमत त धेरै पटक ल्याएको हो, तर मुलुकमा राजनीतिक स्थायित्व दिन त सकेन नि !

०१५ सालमा त दुई तिहाई बहुमत ल्याएको, राजाले फालिदिए । कांग्रेसको बहुमत फाल्न राजासँग मिल्ने यिनै कम्युनिस्ट हुन् ।

जनमत संग्रहमा पहेँलोमा भोट हालेर निर्दलीय व्यवस्थालाई जिताउने यिनै कम्युनिस्ट होइनन् ? अनि तिनीहरूले भन्न सुहाउँछ ?

कम्युनिस्टहरू प्रजातन्त्रको खिलाफमा छन्, सधैँ ।

प्रजातन्त्र ल्याउन ००७ सालमा कम्युनिस्ट लडे, लडेनन् ? भारतमा ब्रिटिस हटाऊ आन्दोलनमा कम्युनिस्ट लागे, लागेनन् ? कम्युनिस्टले जहिल्यै शासक वर्गलाई सघाइरहेका छन् । हामीलाई थाहा छ– राजा महेन्द्रसँग को–को कम्युनिस्ट नेताले भत्ता लिए । हामीलाई सबैकुरा थाहा छ । उनीहरू लोकतान्त्रिक प्रक्रियामा आउँछन् भनेर सँगै लिएर हिँडेका मात्रै हौँ ।

यी त राष्ट्रिय राजनीतिका कुरा भए, यस क्षेत्रमा चुनाव जित्नुभयो भने तपाईले के गर्नुहुन्छ ?

त्यसमा दुईतिनवटा कुरा छ । पहिलो, संविधान संशोधन गरेर, मधेसी, पिछडा वर्ग, मुस्लिम, आदिबासी, जति पनि असुन्तुष्ट छन् तिनीहरूको मागलाई सम्बोधन गरेर सर्वस्वीकार्य बनाउँछौँ ।

दोस्रो, विराटनगरलाई प्रदेशको राजधानी बनाउँछौँ । हाम्रो प्रदेशमा बूढीगंगा गाउँपालिका छ, त्यो भन्दा खराबलाई नगरपालिका बनाएको छ । तर, त्यो छैन । बूढीगंगालाई नगरपालिका बनाउने मेरो लक्ष्य छ ।

पूर्वाञ्चल विश्वविद्यालय हाम्रै क्षेत्रमा छ । एकवर्षभित्र त्यहाँ मेडिकल कलेज सञ्चालन गर्छौं । युगपुरुष गिरिजाप्रसाद कोइरालाको सपना थियो– बीएसयूजस्तो युनिभर्सिटी होस् । त्यस्तै बनाउँछौँ त्यसलाई । नर्सिङ, एग्रिकल्चर त सुरू पनि भइसकेको छ ।

बूढीगंगा, सुन्दर हरैँचा, विराटनगर यसवर्ष बाढीले तहसनहस बनायो । गछिया खोला, बूढी खोला, सिंगिया खोलाले बिनासै मच्चायो । त्यसैलाई नियन्त्रणको प्रयास गरेका छौँ ।

तत्कालका लागि सरकारले रकमसमेत विनियोजन गरेको छ । राहत पनि उपलब्ध गराएको छ । तर, त्यतिले पुग्दै । अर्बौं रकमको आवश्यकता पर्दछ । निरन्तर दबाब दिइरहेका पनि छौँ ।

विराटनगर अस्तव्यस्त देख्नुभएको छ । नाला र ढल त्यसका कारण हुन् । निकास छैन । नाला बन्दैछ । ढल बन्दैछ । विराटनगरलाई हरियाली सहरको रूपमा, स्वच्छ र सभ्य सहरको रूपमा विकास गर्छौं ।

विराटनगरपश्चिमतर्फ खानेपानीको ठूलो समस्या छ । चापाकलको पानी पिउन बाध्य छन्, मानिस । त्यसलाई विस्थापित गरि घरघरमा ट्यांकीबाट पानी दिन्छौँ ।

शिक्षा र स्वास्थ्य हाम्रो लागि महत्त्वपूर्ण छ । म सरकारी विद्यालय, कलेजमै पढेकोँ हुँ । तर, डाक्टर बनेँ । हाम्रा भाइभतिजा, छोराछोरी किन सक्दैनन् ?
स्कुललाई गुणस्तरीय स्कुल बनाउन सुरू गरिसकेको छौँ । धेरै विद्यालय अंग्रेजी माध्यमबाट पढाइ हुन थालेका छन् । केही विद्यालयालाई प्रविधिमैत्री बनाइसकेका छौँ, संसद विकास कोष र अन्य माध्यमबाट ।

म चिकित्सक हुँ– उपचारको क्रममा र उपचार नपाएर कोही मर्न नपरोस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि स्वास्थ्य बिमा कार्यक्रममलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हाम्रो योजना छ ।

पाँचवर्षभित्र यो क्षेत्रमा एउटा पनि घर फुसको हुने छैन । सबै घरको छाना टिनको हुनेछ । पाँच वर्षभित्र सबै सडक कालोपत्रे हुनेछ ।

विराटनगर औद्योगिक सहर हो । उद्योगपतिका लागि सेज खोल्ने हामीले प्रतिवद्धता व्यक्त गरिसकेका छौँ । जग्गा पनि उपलव्ध छ । यसपटक ल्याउँछौँ ।

भूमिहीन, सुकुम्बासी समस्या पनि छ नि ?

नदी नियन्त्रणका लागि तटबन्ध जुन बन्छ नि, त्यहाँ जग्गा उकासीसकेपछि केही खाली जमिन निस्कन्छ, त्यहाँ सुकुम्बासी राख्छौैँ ।

मोरङ–६ मा कांग्रेस विजयी हुन्छ त ?

मोरङ–६ मात्रै होइन, विराटनगरमा ३ वटा क्षेत्र पर्दछ । ती सबै जित्छौँ । र, सिंगै मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्र जित्छौँ ।  ३ नम्बर निर्वाचन क्षेत्रमा हामी यसअघि कमजोर थियौँ, त्यहाँ पनि यसपटक बलियो छौँ हामी । वाह्खरीवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here