६ मंसीर

कास्की । कास्की क्षेत्र नं २ का प्रदेश तर्फ क का उम्मेदवार गुरु बरालका लागि अहिले कार्यकर्ताले मात्रै होईन रोबर्टले समेत मत माग्न थालेको छ । मंगलबार कास्कीको विभिन्न ३ वटा वडामा कार्यकर्ताहरुसँगै रोबर्टले पनि उनको लागि मत मागेको काँग्रेस कार्यकर्ता किरण बरालले जानकारी दिए ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका नेविसंघका पूर्व उपाध्यक्ष समेत रहेका बरालको लागि मंगलबार पोखरा लेखनाथ महानगरको वडा नं ३३, ७ र १७ मा रोबर्टले मत मागेको थियो । रोबर्टलाई कार्यकर्ताहरुसँगै मत माग्नमा परिचालन गरिएपछि त्यहाँका स्थानीयहरु अचम्मित बन्दै उनको प्रचारप्रसारमा सहभागी भएका थिए ।

चुनावी प्रचार कार्यक्रममा बोल्दै उम्मेदवार बरालले बामपन्थीहरु संविधान खारेज गर्न तर्फ उन्मुख रहेको भन्दै लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसलाई मत दिनुपर्ने बताएका छन् । उनले आफू जनताको सेवा गर्नको लागि राजनीतिमा आएको भन्दै आफू चुनाव जितेपनि चुनाव हारेपनि आफ्नो सिद्धान्तप्रति अडिक रहेको बताएका छन् ।