३० कार्तिक

काठमाडौं । अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो ।

चाबहिल मित्रपार्कको अम्बे अपार्टमेन्टस्थित निवासबाट उनी पक्राउ परेका हुन् । कालोसूचीमा रहेको एउटा म्यानपावर कम्पनीको कारोबार रोक्का फुकुवा गर्न घूस मागेपछि सञ्चालकले अख्तियारलाई खबर गरेका थिए ।

अख्तियार टोलीले मंगलबार साँझ विभागका अधिकृत कृतिबल्लभ पौडेल र नासु खडग केसीलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पाण्डे २०७३ कात्तिकमा श्रम विभागबाट वैदेशिक रोजगार विभागमा सरुवा भएका थिए ।

उनलाई हटाउन यसअघिका दुई मन्त्रीले प्रयास गरे पनि शक्ति र पहुँचका कारण उनी त्यहीं टिकिरहेका थिए । ‘घूस लिने टोलीमा महानिर्देशक पाण्डे पनि छन् भन्ने हामीलाई सूचना थियो,’ स्रोतले भन्यो, ‘तर अरू दुई कर्मचारीलाई पैसा लिन निर्देशन दिएर उनी बाहिरै बसेका रहेछन् ।’

कर्मचारी पक्राउ परेपछि उनीहरूको बयान र अन्य प्रमाणका आधारमा महानिर्देशकलाई समेत पक्राउ गरेको अख्तियारस्रोतले बतायो । अख्तियारले वैदेशिक रोजगार विभागका प्रमुखलाई पक्राउ गरेको यो पहिलो हो ।