संजय रेग्मी
कात्र्तिक २८, २०७४

पर्वत ः पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुरकोट स्थित तीसमुरेकी लक्ष्मी शर्मा कात्र्तिक २४ गते धान काटेर घर फर्किँदा अचम्ममा परिन । उनको घरको मूल ढोका बन्द थियो तर भित्रबाट कसैले बिना आवाज एकोहोरो ढोका घच्घच्याईरहेको थियो । जब उनले ढोका खोलिन अनि बेहोस जस्तै बनेर भुईँमा नै लडिन । कारण थियो उनको १३ बर्षिय छोरा सन्देश शर्माका दुवै हात पछाडि लगेर डोरीले बाँधिएका थिए । अनि मुख र आँखामा पट्टी बाँधीएको थियो । छोराका शरीरमा बाँधिएका डोरी पट्टी फुकाएपछि मात्र उनलाई थाहा भयो की मध्यान्हको समयमा उनको घरमा नकाब लगाएर छिरेको एक जना चोरले सन्देशलाई पछाडिबाट टाउकोमा लठ्ठी प्रहार गरी बेहोस बनायो अनि लुटपाट ग¥यो । पछि खानतलासी गर्दा चोरले बीस हजार रुपैयाँ नगद सहित डेढ तोला सुन पनि चोरेर भागेको पत्ता लाग्यो । पछिल्ला केही दिनयता खुरकोटबासीमा यसरी नै चोरको बिगबिगीले सताएको छ । लक्ष्मी भन्छिन,“हामी सबै धान काट्न गएका थियौँ, दिउसो साढे बाह्र बजेतिर घरमा छोरो एक्लै भएको मौका छोपेर चोरले यस्तो गरेछ । अगाडि पनि चोरी भएको थियो, टाढाको मान्छे त होईन होला हाम्रो बारेमा सबै थाहा पाएको व्यक्तिले नै यो काम गरेको हुनुपर्छ । बत्तीस इन्चको टी.भी. पनि लान तानेको रहेछ तर तारले बलियोसंग बाँधेको कारण पल्टाएर छोडेछ ।” चोरीपछि उक्त चोरले एउटा नोट पनि लेखेर छोडेको भेटीएको छ । उक्त नोटमा “सक्छस भने जोडेर हेर मेरो नाम यहीँ छ ।” भनी सात ओटा गोलामा निकै अस्पष्ट हुने गरी फरक फरक अक्षर लेखिएको छ । लुटपाटपछि घट्नास्थलमा पुगेको प्रहरीले समेत उक्त गोलाहरुबाट नाम पत्ता लगाउन सकेन ।

लक्ष्मीकै घरमा गएको कात्र्तिक १३ गते पनि दिउसोको साढे एक बजेको समय तिर चोरले कोठाको दराजभित्रबाट तेह्र सय रुपैयाँ चोरको थियो ।

लक्ष्मीको घरबाहेक स्थानीय चुडामणि पौडेलको घरबाट पनि केही दिनअघि मध्यान्हको समयमै एउटा ट्याव चोरी भएको थियो । घरका सबै जना धान काट्न खेतमा गएको मौका पारेर उक्त चोरी भएको पौडेलले बताए ।

यसबाहेक, गएको कात्र्तिक दश गते राती नौ बजे सोही टोलकै रमाकान्त पौडेल उपाध्यायको घरमा पनि चोरीको प्रयास भएको थियो । तर, छिमेकका कसैले शंकास्पद तरीकाले कोही मान्छेले घरको आंगन छेउमा यताउता गरिरहेको चाल पाईएर हल्लाखल्ला भएपछि चोर भागेको थियो ।
यता, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले चोरको खोजी भैरहेको र चोरी भैरहेको क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरीएको जानकारी दिए ।
केहीदिनदेखि भैरहेको चोरीका श्रृङखलाका कारण खुरकोटबासीहरुमा चिन्ता बढेको छ । धान र कोदो थन्काउन भ्याई नभ्याई भएको बेलामा घरमा मान्छे नभएको मौका पारी चोरको बिगबिगी बढेपछि उनीहरु चिन्तामा परेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here