संजय रेग्मी

कात्र्तिक २४, २०७४

पर्वत :  मुस्ताङको घरपझोङ गाउँपालिकाकी जुमा थकाली अघिल्ला बर्षहरुको यही समयमा अन्नपात थन्क्याएर सिद्रा, जिम्बु, कपडा, माला, पोते, सिधे नून, बीरे नून र अरु स्थानीय जडिबुटी बेच्दै चिसो छल्न बेसी झर्ने बेला भयो । तर, यस पटक उनी चिसो सहेरै भएपनि गाउँमा नै बसेकी छिन । जुमा मात्र होईन चिसो छल्नका लागि पर्वत, बागलुङ, म्याग्दी, पोखरा लगायतका ठाउँमा पुग्ने उपल्लो मुस्ताङका नागरिकहरु अहिले गाउँमै छन । मौसमले चिसो हाल्दै गएको भएपनि आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले उनीहरुलाई तताएको छ । पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने निर्वाचनले मुस्ताङमा चुनावी सरगर्मी निकै बढेको छ । चिसो छल्ने बहानामा ताता बेसीमा झर्ने मुस्ताङीहरुले यो ‘सिजन’ मा बेसीमा गर्ने व्यपारले राम्रो कमाई गर्थे । तर, मतदानको लागि हौसिएका उनीहरुलाई अहिले चिसो र व्यपारको कुनै पिर छैन । जुमा थकाली भन्छिन, “ब्यपार त फेरि फेरि गरे नी भो, तर चुनाव फेरि फेरि कहाँ हुन्छ र ? गाउँमा खुब रमाईलो छ, नेताहरुले बरु आगो ताप्नु तर बेसी नझर्नु, यहीँ बसेर भोट हाल्ने भनेपछि हामी बेसीमा झरेका छैनौँ । अब चुनावपछि मात्रै तल जाने हो ।” २० बर्षपछि भैरहेको स्थानीय निकायको निर्वाचन त्यसबाहेक मुलुकमा नै पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न उनीहरु हौसिएको मुस्ताङका राजनीतिक दलहरु बताउँछन । घरपझोङ गाउँपालिकाका प्रमुख आशबहादुर थकालीले थाहा खबरसंग भने, “अहिले सबै गाउँलेहरु गाउँमा नै छन । मतदाता नामावलीमा नाम नभएकाहरु भने चिसो छल्न र ब्यपार गर्न बेसीमा गएका छन । जिल्ला बाहिर रहेका अन्य जिल्लाबासीहरुलाई पनि यहाँका दलहरुले मतदानका लागि बोलाएका छन । अहिले मुस्ताङमा खुब रमाईलो छ ।” केही बर्ष अघिसम्म चुनाव र अन्य कुराको वास्ता नगरी चिसो छल्न र ब्यापार गर्न बेसी झर्ने मुस्ताङीहरुमा बिस्तारै राजनीतिक बुझाई पनि बढ्दो छ । त्यसैले उनीहरु यस्ता अवसरमा गाउँमै बस्न थालेका छन । मुस्ताङका जिल्ला निर्वाचन अधिकृत सीताराम शर्मा भन्छन, “यहाँका मान्छेहरु पनि शिक्षित बन्दै गैरहेका छन । पहिले पहिले जस्तो बेवास्ता गरेर हिँड्ने चलन हटीसकेछ । उनीहरुमा राजनीतिक चेतनाको पनि राम्रो विकास भएको मैले अनुभव गरेको छु ।” प्रदेशमा २ र केन्द्रमा १ जना साँसद रहने मुस्ताङमा ९ हजार ४ सय २७ जना मतदाता छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here