२४ कार्तिक

रत्ननगर, चितवन  । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र सांसदहरु नै चुनावी प्रतिष्पर्धामा देखिएका कारण चितवन जिल्लाको चुनावी कार्यक्रमहरु सबैको चासो र चर्चाको विषय बनेको छ ।

मतदाता मनोज अर्याल पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि बहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिष्पर्धा निक्कै चासोको विषय बनेको बताउँछन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’, पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, बहालवाला वन तथा भूसंरक्षण मन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ चुनावी प्रतिष्पर्धामा छन् ।

अहिले चितवनको सबैभन्दा चासोको विषय क्षेत्र नम्बर ३ बन्न पुगेको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल नै चुनावी मैदानमा छन् ।

उनको प्रतिष्पर्धीका रुपमा राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष एवं बहालवाला वन तथा भूसंरक्षण मन्त्री पाण्डे रहेका छन् । दाहाल वाम गठबन्धनबाट उम्मेदवार भएका हुन् भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट ।

पहिलो चरणको चुनावी प्रचार अभियान सम्पन्न गरेका दाहालले चितवनका जनताबाट अधिकार प्राप्त गरेर देशकै नेतृत्व गरी स्थायी शान्ति र समृद्ध राष्ट्र बनाउन चितवन आएको दावी गरे । पाण्डे भने विकासका लागि चुनावमा आएको भन्दै प्रचार अभियानमा सक्रिय छन् ।

उनीहरुसहित कूल १४ जनाको उम्मेदवारी रहेको चितवन क्षेत्र नम्बर ३ मा अर्का पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री एवं नेकपा (माले)का नेता श्रेष्ठको समेत उम्मेदवारी छ ।  सो क्षेत्रमा ६ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

चितवन क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री तथा सांसद शेषनाथ अधिकारीको उम्मेदवारी परेको छ । उहाँसँग वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेल प्रतिष्पर्धामा छन् ।

देवघाटबाट जनताको आशिर्वाद लिएर चुनावी मैदानमा आएको बताउँदै पोखरेल भन्छन्, “जिल्लामा वाम गठबन्धनको जित सुनिश्चित छ ।’ अधिकारी आफू यहाँको ‘अग्र्यानिक’ उम्मेदवार भएकाले मतदाताहरुले मत दिने दावी गर्दै चुनावी अभियानमा छन् ।

यसअघिको निर्वाचनमा पोखरेल क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने अधिकारी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । चितवन क्षेत्र नम्बर २ मा १५ जनाको उम्मेदवारी रहेकामा तीनजना स्वतन्त्र उम्मेदवार छन् ।

अहिले निर्वाचन क्षेत्र ५ बाट ३ मा झारिएकाले मतदाताहरुको भोट बाँडिने भएर आकलन गर्नसक्ने स्थिति छैन । तर स्थानीय तहमा आएको पार्टीहरुको भोट हेर्दा वाम गठबन्धन केही अगाडि देखिन्छ ।

त्यसो त चितवन क्षेत्र नम्बर १ मा एमालेका पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन् । उनका प्रतिष्पर्धीमा नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् । दाहाललाई देखाउँदै पाण्डेले जिल्लाको विकास दुई भाइले गरेरै छाड्ने बताए ।
यहाँबाट प्रतिनिधिसभामा उठेका १३ उम्मेदवारमध्ये ३ जना स्वतन्त्र छन् । यसअघि २०७० को निर्वाचनमा पनि उनीहरुबीच नै प्रतिष्पर्धा भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here