२३ कार्तिक मुलुकको राष्ट्रिय प्राथकितामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग निर्माणका लागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोली बुधबार पोखरा पुगेको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन भ्रमण गरेको हो ।

पोखरासम्मको स्थलगत अध्ययनपछि यस टोलीले काठमाडौं–पोखरा खण्डमा रेलमार्ग निर्माण कार्य सहज देखिएको बताएको छ । चिनियाँ उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गलगायत मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणका लागि अध्ययन गर्न छलफल गर्नेछ । नेपालमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाल आइपुगेको सो टोली चार दिनसम्म यहाँका विभिन्न भागको स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी आगामी शनिबार चीन फर्कने कार्यक्रम रहेको छ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा अहिलेसम्मको स्थलगत अवलोकनपछि उनीहरूले रेलमार्ग निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताए । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरूको प्रतिक्रिया रहेको उनले जानकारी दिए ।

बुधबार काठमाडौंबाट पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकन भ्रमणपछि सकारात्मक प्रतिक्रिया दिएको बताउँदै उपाध्यायले भने,  ‘अब बिहीबार यो टोलीले पोखराबाट लुम्बिनीसम्मको भौगर्भिक अध्ययन गर्दै छ ।’ उनले चिनियाँ अध्ययन टोलीको प्रतिक्रियाले अहिले आफूहरू पनि निकै उत्साहित भएको बताए ।

केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग निर्माणका लागि स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार बिहान काठमाडौं आएको थियो । गत सोमबारदेखि उनीहरूले निरन्तर नेपालमा रेल निर्माणबारे छलफल तथा स्थलगत अवलोकन गरिरहेका छन् ।

नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न यस टोलीले जिम्मेवारी पाएको विभागले जनाएको छ । तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ ।

नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन ।

सो रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग अहिले त्यससम्बन्धी सम्झौता भएको छैन । विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै यहाँको रेलमार्ग निर्माणका लागि नेपालको रेलवे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यसलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ । चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमा नाकासम्म रेलवे सेवा विस्तार गरिनेछ । चिनियाँ प्राविधिज्ञहरूले यो रेल सेवा द्रुर्त गतिको भने नहुने बताएको छ । चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसपछि २५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै नेपाली सीमानाका केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ । केरुङ सीमाक्षेत्र समुद्री सतहबाट २८ सय मिटरको उचाइमा रहेको छ । नेपालमा जम्मा १८ सय मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रूपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।

काठमाडौं आएकै दिन सम्पन्न भएको एक चरणको छलफलमा विभागले लिएको लक्ष्य पूरा गर्ने कार्यमा उनीहरू निकै सकारात्मक भएका छन । अहिले यस अध्ययन टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिलगायत सहभागी भएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए । नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका यस प्राविधिकसहितको उच्च टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययनसहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो ।

छलफलमा नेपाली पक्षले उठाएका विविध मागप्रति चिनियाँ प्रतिनिधिहरू सकारात्मक छन् । अहिले यस टोलीको नेपाल भ्रमणको मुख्य उद्देश्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु नै  थियो । चिनियाँ टोली नेपाली प्रतिनिधिसहित मंगलबार केरुङतर्फ स्थलगत अध्ययन भ्रमणका लागि गएर फर्किएको थियो । पूर्वअर्थमन्त्री कृष्णबहादुर महरासँग चीन भ्रमणको अवसरमा केरुङ–काठमाडांै रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो । जसका लागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययनअनुसार  रेलमार्ग १ सय ८७  किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्नेछ ।

काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । रेलमार्गले अहिले सवारीसाधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घण्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घण्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ । यस टोलीको स्थलगत अध्ययन भ्रमणपछि पुनः आगामी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग दोस्रो बैठक गर्ने कार्यक्रम तय भएको पनि विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here