१९ कार्तिक

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलहरूले कलाकारलाई टिकट दिन चासो देखाएनन् । अरु बेला कलाकार उपयोग गर्ने दलहरू निर्वाचनका बेला भने देखेको नदेखेझैं गरे । सांसदको टिकट दिन्छु भनेर राप्रपाबाट एमाले प्रवेश गराए पनि सो पार्टीले गायिका कोमल वलीलाई उम्मेदवार नबनाएपछि अहिले कलाकारहरू राजनीतिक दलप्रति आक्रोशित भएका छन् ।

एमालेले टिकट नदिएपछि कोमल वलीले बिहीबार दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । सो क्षेत्रबाट एमालेका हीराचन्द्र केसी उम्मेदवार बनेका छन् ।

कोमल वलीलाई टिकट नदिएपछि हास्य कलाकार जितु नेपालले दलहरूले कलाकारलाई उपयोग गरेको र त्यस विषयलाई कलाकारले पनि नबुझेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एमालेले कोमल वलीलाई एमालेले हरियो घाँस देखाएर ठण्डाराम पारेको बताएका छन् ।

‘कुनै पनि पार्टीले कलाकारलाई आफ्नो स्वार्थका लागि बाहेक कुनै स्थान दिएनन् । यसको ज्वलन्त उदाहरण कोमल वली दिदी हुन्, जसलाई एमालेले हरियो घाँस देखाएर खोरमा भित्र्त्याएर ठण्डाराम पार्‍यो । यो घटना पहिलो होइन, यसभन्दा पहिले पनि भुवन केसीलगायत धेरैलाई ठण्डाराम पारेकै हो,’ जितुले लेखेका छन् ।

कलाकार नेपालले  फेसबुकमा स्टाटस राख्दै दलहरूले कलाकारलाई कार्यक्रममा भीड जम्मा गर्ने पात्र मात्र भन्ठानेको उल्लेख गरेका छन् । ‘कुनै पनि दल र नेताहरूले हामीलाई सम्झिने भनेको यिनका आमसभा, चुनाव प्रचार प्रसारलगायतका कार्यक्रममा भीड जम्मा पार्ने माध्यम बन्ने र उनीहरूले भाषण गरून्जेल जनता अड्याउने कामका लागि मात्रै हो । त्यसैले आफ्नो प्रतिभा र लोकप्रियताको भर परौं, आफ्नो पेसा इमान्दारीका साथ निर्वाह गरी सम्पूर्ण नेपालीको मनमनमा बस्ने काम गरौं, कुनै पार्टीको गोटी भएर हाँसोका पात्र मात्र नबनौं,’ उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here