१७ कार्तिक काठमाडौं दोस्रो चरण अन्तर्गत मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।

दोस्रो चरणमा ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रमा तथा प्रदेशसभाका २५६ क्षेत्रमा निर्वाचन हुँदैछ ।

प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा चुनाव हुँदैछ ।
त्यस्तै प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर प्रदेश नं ४का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया प्रदेश नं ६ को सल्यान, सुर्खेत र दैलेख र प्रदेश नं. ७ का कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मंसिर २१ मा चुनाव हुँदैछ ।
शीर्ष नेतासहित अन्य सवै उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
केही उम्मेदवारहरुलाई भने वागी उम्मेदवारले चुनौती दिएका छन् ।

रामचन्द्र पौडेललाई जोशीको चुनौती
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले वागी उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ १ बाट उम्मेदवार सिफारिस परेका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएसँगै पौडेल संकटमा पर्ने देखिएको छ ।

उपेन्द्र यादवविरुद्ध वागी उम्मेदवारी

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले वागी उम्मेदवारी दिएका छन् । राजपा र फोरमबीच सप्तरी क्षेत्र नम्बर २ उपेन्द्रले लिने सहमति भएको थियो ।

कोमल ओलीले टिकट नपाएपछि…
राप्रपाको निर्वाचित सदस्य रहेकी कोमल ओली केही समय अघिमात्र नेकपा एमाले प्रवेश गरेकि थिइन् ।
प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार बनाउने आश्वासनसहित एमाले प्रवेश गरेकी ओलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

वाम गठबन्धनविरुद्ध एमाले नेता वागी
बारामा वाम गठबन्धनविरुद्ध एमाले २ नम्बर प्रदेश सदस्य भरतबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
बाराको निर्वाचन क्षेत्र नम्बर २ को १ मा वाम गठबन्धनविरुद्ध नेकपा एमालेका २ नम्बर प्रदेश सदस्य भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका हुन् ।
बाराको निर्वाचन क्षेत्र नम्बर २ को १ मा वाम गठबन्धनबाट पूर्व राज्यमन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी ज्वाला शाह उम्मेदवार छिन् ।

हरिबोल गजुरेल विरुद्ध वागी उम्मेदवार
सिन्धुली क्षेत्र नम्बर २ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बिरुद्ध माओवादी नेताले बागी उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट माओवादीका हरिबोल गजुरेल उम्मेदवार बनेपछि उनी विरुद्ध माओवादीकै रामकुमार पौडेलले वागी उम्मेदवार दिएका हुन् ।
यस्तै क्षेत्र १ को प्रदेशसभामा माओवादीका दिलबहादुर विकले पनि बागी उम्मेदवार दिएका छन् । त्यहाँ गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन ) उम्मेदवार छन् ।

राजपाले टिकट नदिएपछि स्वतन्त्र
दोस्रो संविधानसभाको चुनावमा महोत्तरी जिल्लाको क्षेत्र नं ४ बाट स्वतन्त्रबाट सभासद् बनेका चन्देश्वर झाले पुनः आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मदवारी दिएका हुन् ।
स्वतन्त्र सांसदबाट राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका झालाई उक्त दलले प्रतिनिधिसभाका लागि टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उक्त क्षेत्रमा राजपा संयोजक महन्थ ठाकुरले उम्मेदवारी दिने पक्का भएकाले आफूले उम्मेदवारी दिएको उनले बताए ।

प्रेस चौतारीका अध्यक्षको वागी उम्मेदवारी
कञ्चनपुरका कर्णबहादुर चन्दले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट उक्त प्रदेश सभाका लागि प्रकाश रावललाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयलाई अस्विकार गर्दै चन्द स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

फोरमविरुद्ध बवन सिंह
पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका ववनसिंहले यसपटकको चुनावमा पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । संघीय समाजवादी फोरमबाट टिकट पाउने भनिएको भएपनि उनले टिकट पाएनन् । टिकट नपाएसँगै ववन सिंहले रौतहट क्षेत्र नम्बर १ बाट फोरमका वागी उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here