१३ कार्तिक काठमाडौं : एएफसी यू-१९ छनोट च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली युवा फुटबल टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको छ । यसअघि उमेरसमूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली टोली यसपटक पनि छनोटको लक्ष्यसहित किर्गिस्तान प्रस्थान गरेको जानकारी टोलीका प्रशिक्षक छिरिङ लोप्साङले दिए । ‘एक महिनाअघि मात्र भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिप जितेर आएका खेलाडी टोलीमा छन् । टोलीमा चारजना मात्र परिवर्तन गरिएको छ ।

त्यसमा पनि पहिलो रोजाइका सबै खेलाडी फिट छन्’, उनले भने, ‘समूहमा यूएई, बहराइन र ओमन बलिया छन् । उमेरसमूहमा नेपालको खेल कमजोर छैन । साफ च्याम्पियनसिपपछि टोलीका खेलाडीमा झनै उत्साह बढेको छ । दसैं र तिहारका कारण बीचमा प्रशिक्षण रोकिए पनि हामीले राम्रो तयारी र मेहनत गरेका छौं ।

नेपालको युवा टोली समग्रमा सन्तुलित रहेकोले आक्रामक खेल खेल्ने नीति लिएको पनि प्रशिक्षक छिरिङले बताए । नेपालले एक महिनाअघि मात्र भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा भारतलाई हराएर उपाधि जितेको थियो । यसैगरी टोलीका कप्तान अपर्ण कार्कीले भुटानमा साफ जितेर फर्किएपछि जस्तोसुकै बलियो टोलीलाई हराउन सकिन्छ भन्ने आत्मबल सबै खेलाडीमा बढेको बताए ।

‘हाम्रो टिम कम्बिनेसन राम्रो छ । हरेक खेलाडीले एकअर्कोलाई राम्ररी बुझेका छन् । खेलाडीका लागि यो ठूलो अवसर पनि हो । हामी शतप्रतिशत मेहनत गरेर छनोट हुनेछौं,’ कार्कीले भने । शनिबारमात्र प्रशिक्षक छिरिङले कार्कीको कप्तानीमा अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । मंगलबारदेखि आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमन छन् ।

समूहको पहिलो खेल नेपालले मंगलबार घरेलु टोली किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेल नोभेम्बर २ तारिखमा बहराइनसँग, तेस्रो खेल नोभेम्बर ४ तारिखमा यूएईसँग र अन्तिम खेल नोभेम्बर ८ तारिखमा ओमनसँग खेल्नेछ । छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप खेल्न पाउने छन् ।

नेपाली टोलीलाई आइतबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाइ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here