१० कार्तिक विराटनगर : एक युवकले खुकुरी प्रहार गरी केराबारी गाउँपालिका-६ की एक बालिकाको हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्।

सञ्चिताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको बेलबारी इलाका प्रहरीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। पाँचथरको साविक लिम्बा-७ घर भएका भक्तशेर तिहारमा केराबारी-६ स्थित दिदीको घरमा आएका थिए।

मंगलबार रातिदेखि घरभित्र भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले बुधबार दिउँसो ३ बजे टाउकोमा खुकुरी हानेको प्रहरी निरीक्षक कटुवालले बताए। ‘अघिल्लो रातिदेखि नै घरभित्र बन्धक बनाएर राखेको रहेछ’, उनले भने, ‘स्थानीयवासी र प्रहरी भेला भएर बालिकाको उद्धार गर्न खोज्दै गर्दा लिम्बूले खुकुरी प्रहार गरेको देखिन्छ।’

अभियुक्तका दिदी-भिनाजुले भने ‘भक्तशेरलाई भूत लागेको र भूतले छाडेपछि भान्जीलाई छाडिदिन्छ’ भनेर बुधबार बिहानसम्म पर्खेर बसेको प्रहरीले जनाएको छ। बिहानसम्म पनि भान्जीलाई नछाडेपछि उनका दिदी-भिनाजुले स्थानीय र प्रहरीमा खबर गरेका थिए।

घरै फुटाएर बालिकाको उद्धार गर्न खोजे पनि सम्भव नभएको प्रहरीले जनाएको छ। घर वरपर होहल्ला सुनेपछि खुकुरी प्रहार गरेर भान्जीलाई घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार भक्तशेरले भान्जीलाई उम्काउन कोही आए छुटाउन खोज्नेलाई मारिदिने धम्की दिएका थिए।

अभियुक्तलाई प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको छ। बालिकालाई बन्धक बनाएर हत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ। बालिकाका बुवा-आमाले यसअघि पनि भक्तशेरले यस्तै अनौठो व्यवहार देखाउने गरेको जानकारी प्रहरीलाई दिएका छन्।

परिवारका सदस्यले भूत लागेको भनेर उनको व्यवहारप्रति चासो नदिँदा ज्यानै लिएको कटुवालको भनाइ छ। ‘भान्जीलाई अघिल्लो दिनदेखि बन्धक बनाएर राखेको उसले स्वीकार गरेको छ’, उनले भने, ‘बन्धक बनाएर राखेको भन्दै गाउँले भेला भएको थाहा पाएपछि खुकुरी हानेको बयान प्रहरीलाई दिएको छ।’ अभियुक्त मानसिक सन्तुलन ठीक नभएको प्रहरीको अनुमान छ। उनले भने गाउँलेले आफूलाई मार्न खोजेका कारण भान्जीलाई खुकुरी हानेको बयान दिएका छन्।अन्नपूर्णपोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here