संजय रेग्मी
असोज ८, २०७४

पर्वत : राजनीतिक परिवर्तनको लागि २०६२÷०६३ आन्दोलनको अग्रपंक्तिमा रहेर लडेका एक योद्धा हुन पर्वतका राम पराजुली । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी घर भएका पराजुली आन्दोलनका घाईते समेत हुन । तर, तिनै योद्धा रक्त क्यान्सरबाट जीवन मरणको दोसाँधमा परेपछि उनको उपचारमा आर्थिक अभाव भएको छ । उपचारको लागि बिगत डेढ महिनादेखि चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका शर्माको उपचारको लागि चरम आर्थिक समस्या भएपछि उनको परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका छन । घरको आर्थिक अवस्था न्यून रहेका कारण पराजुलीका परिवार र आफन्तजनले पनि सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सबै सामु सहयोगको अनुरोध गरेका छन । उनको उपचारको लागि अहिलेसम्म २० लाख रुपैयाँ खर्च भैसकेको र अब झण्डै ६० लाख रुपैयाँ लाग्ने रामकी श्रीमती तारादेवीले बताईन । उनले भनीन, ‘उहाँको उपचारको लागि हामीसंग त्यती धेरै पैसा छैन, त्यसैले हामीले सबैसंग गुहारेका छौँ । बी प्लस रगत उहांको लागि आवश्यक छ ।’ तारादेवी अनुसार रामको लागि अहिले ‘राम बचाऊ अभियान’ अन्तर्गत रसिद काटेर अहिलेसम्म झण्डै साढे तीन लाख रुपैया मात्र संकलन भएको छ । माओवादी केन्द्र पर्वतको सदस्य समेत रहेका रामलाई आन्दोलनको क्रममा काठमाण्डौमा खुट्टामा गोली लागेको थियो । रामको खुट्टामा लागेको गोलीका छर्रा अझै पनि खुट्टामा नै रहेको बताउँदै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी भन्छन, ‘हामीले विदेशमा रहेका साथीहरुदेखि राज्यसंग पनि रामको उपचारमा सघाउन अनुरोध गरेका छौँ । रामजस्ता सामाजिक व्यक्तिलाई सबैले सक्दो सहयोग गरेमा बचाउन सकिन्छ ।’ पारिवारिक स्रोतका अनुसार आवश्यक रकम संकलन हुन सकेमा अबको ६ महिनासम्म अस्पतालमै राखेर उपचार गरेमा उनी निको हुने डक्टरहरुले बताएका छन । पराजुलीका एक श्रीमती र एक छोरा छन । उनकी श्रीमती तारादेवी गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट कुश्मा नगरपालिकाको उपप्रमुख पदकी उम्मेद्वार बनेकी थिईन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here