४ कार्तिक बर्दिबास : बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर बस्ती। घर-घरका पेटीमा फूलेका सुन्दर फूलले अझ सुन्दरता बढाएको छ। लक्ष्मीमाताको फोटोसंगै दैलोमा धुर्मुस-सुन्तलीको तस्बिर छ। मुसहरले चार पुस्तापछि उज्योलो ज्योतिसंगै दीपावलीको उत्सव मनाए। सदैको भन्दा यसपालिको दीपावली महोत्तरीको बर्दिबासका मुसहरको जीवनमा बिशेष रह्यो। खुशीको वर्णन गर्न वास्तवमै मुसहरसँग शब्द छैनन्।
रोग, भोक र अशिक्षाले थलिएका गरिब तथा विपन्न मुसहरले यो वर्ष आनन्दका साथ दीपावली मनाएका छन्। धुर्मुस-सुन्तलीले वैशाख १ गते नयाँ बर्षमा उपहार स्वरुप मुसहरलाई पक्की घर उपहार दिएका थिए। अघिल्लो वर्ष माटोको ढिस्कोमा दीपावली मनाएका मुसहर यस बर्षको लक्ष्मीपूजामा १० लाख बढी मूल्य पर्ने घर धनी भएका छन्। सम्पत्तिको नाममा पाँचधुर जग्गा रहेका मुसहरलाई घरको धनी बनाइदिने हाँस्य कलाकार धुर्मुस-सुन्तलीलाई लक्ष्मिमातको फोटोसंगै भगवानको रुपमा पूजा गरेको बस्तीका ५५ बर्षीय मानकी सादा मुसहरले बताइन्।
लक्ष्मी पूजाका लागि बिहीबार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले बस्तीका महिलाले लिपपोत गरे। चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाए। घर अगाडी रंगौली बनाएर पालामा तेल हालेर दीप जलाए।