संजय रेग्मी
कात्र्तिक २, २०७४

पर्वत ः तिहार लागेसंगै घरगाउँ र शहरबजारमा देउसी भैलो खेल्ने समूहको गन्ती नै छैन । बिहान उज्यालो भएपछि राती अबेरसम्म पनि छुट्टा छुट्टै भैलेनी समूहले गाउँ शहर गुञ्जयमान बनाईरहेका छन । सबैका घरमा झिलिमिलि बत्ती बलीरहेको बेला त्यहीँ माथि भैलेनीको समूह छिरेपछि बल्ल तिहार लागेको आभास हुन्छ घरकाहरुलाई । तर, आजभोली गाउने भैलेनी अर्कै स्वरुपकै बनेपछि भने दर्शकहरुलाई लाग्छ की यो डिस्को हो या दोहोरी साँझ ? आजभोली गाउने भैलीका गित भने साँच्चीकै भैलेनीका गीत छैनन । पर्वत सदरमुकाम कुश्मा बजारको मुख्य चोकमा भैली गाउँदै गरेको एक समूहले भैली खेलेको नाममा “रजनी प्mयान, लुङ्गी डान्स डान्स” भन्दै कम्मर भाँच्दा नेपालको मौलिक संस्कृतिलाई अरुका संस्कृतिले गिज्याएको प्रस्टै देखिन्थ्यो । एक जना टोली नेताले आशिर्वाद दिंदै भट्याउने अनि अरु साथीले देउसी रे वा भैलो भनेर गाउने गरेका गीत यूवा पुस्ताबाट सुन्न पाईँदैन । जुन यूवा पुस्ताले मौलिक गीतको संरक्षण गर्नुपर्ने हो उही पुस्ता नै भैलेनीमा टोल नै थर्किने गरी बजिरहेका स्पिकरमा पप, रिमिक्स, हिन्दी वा रेकर्ड गरीएका अन्य एल्बमका गीत गाउँदै कन्सर्टमा जस्तै नाचीरहेको हुन्छ । पर्वतका एक जना साहित्यकार टुकनाथ रेग्मी ‘बेलूराम’ भन्छन, “यस्तो परम्पराले नेपाली साहित्य र मौलिक कला नै दिशाहिन भएको छ । आशिर्वाद दिने नेपाली झर्रा शब्द सुन्नै पाईँदैन आजभोली । यस्तै गर्दै जाने हो भने केही दशकमा भैलो भन्ने कस्तो हुन्थ्यो र ? भनेर खोज्नुपर्ने दिन आउँछ ।” गाउँमा भन्दा शहरमा भैलेनी गीतमा अझै बढी बिकृति देखिएको छ । रेकर्डेड गीतमा थोरै जनाले पनि प्रस्तुती दिन मिल्ने, बाद्यबाधन वा विशेष कला भएका व्यक्ति आवश्यक नपर्ने, अरुले भन्दा चर्को आवाज लगाएर आप्mनो टोलीको प्रभाव देखाउन खोज्ने प्रचलनका कारण पनि मौलिक भैली सुन्न पाईँदैन । यूवा पुस्ताले मौलिकताको ख्याल नगरेपनि गाउँका कुना काप्चामा भैलो खेल्दै गरेका बालबालिकाहरुले भने जानी नजानी भट्याउँदै देउसी र भैलो भनेको भने सुन्न पाईन्छ ।
आप्mना पालामा चल्ने र गाईने गरेका गीत आजभोली खासै सुन्न नपाई बुभ्mनै नसकिने गरी बजाईएका गीत सुन्दा बृद्धबृद्धाहरुलाई निकै नमज्जा लाग्छ । आप्mना पालाको जस्तो देउसी भैलो अहिलेकाले गाउन नसक्ने बताउँदै पर्वतको फलेवास नगरपालिका, लिमिठानाकी ७१ बर्षिय बृद्धा झलक तिमिल्सेनाले लगभग १२ बर्षको उमेर हुँदा गाउँघरमा आँपूmले गाएको भैलेनीको गीत यसरी सम्झीनुभयो । “बूढी भएँ त्यो बेलाको सबै त सम्झन्न त्यही पनिः ‘एक माने के हे ? – भैली’ ‘जाँतोको हाँतो – भैली’ ‘दुई माने के हे ? – भैली’ ‘बाख्रीका थुन – भैली’ ‘यो घर कत्रो ? – भैली’ ‘दरबारै जत्रो – भैली’ भन्दै गाउँथ्यौँ । आजभोलीका ले त के गाउँछन र ? क्यासेट बजाएर नाच्छन । क्यासेट बजाएर त जहिले नाचेनी भो नी, तिहारमा किन नाच्नु ?”
पश्चिमा संस्कृतिले हामीलाई अँठ्यायो भन्दै फलाक्ने यूवा पुस्ताकै ध्यान पूर्वीय संस्कारको संरक्षणमा लागेको पाईँदैन । हामीले हाम्रो पौराणिक कला र परम्परालाई जोगाउने हो भने पाको पुस्ताको सिको गर्दै हाम्रै संस्कार र संस्कृतिको रमाउनु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here