३० असोज वाम गठबन्धनबाट केही दिनअघि मात्र बाहिरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसले गोरखामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।

शनिबार बालुवाटारमा भएको सहमतिअनुसार गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ। कांग्रेस नेता चिनकाजी श्रेष्ठका अनुसार गोरखामा प्रदेश सभामा पनि दुई पार्टीबीच तालमेल हुनेछ।

‘गोरखा–२ को एउटा प्रदेश सभा सदस्य र एउटामा कांग्रेस उठ्ने सहमति भएको छ भने गोरखा –१ का दुबै प्रदेश सभा सदस्यमा नयाँशक्तिले कांग्रेसलाई सघाउने छ’, श्रेष्ठले सेतोपाटीसँग भने।

गोरखा –१ बाट श्रेष्ठ केन्द्रीय संसदका लागि आफैं चुनाव लड्न सम्भावना छ।

शुक्रबार म्याद सकिएको संसदमा श्रेष्ठका कांग्रेसका मुख्य सचेतक थिए।

गोरखाबाट प्रतिनिधि तथा प्रदेश सभामा टिकटका आकांक्षी कतिपय नेताले भने यो तालमेलप्रति असन्तुष्टि जनाएका छन्।

‘हामीलाई खबर नै नगरी केन्द्रीय नेताहरुले गोरखाका बारे सहमति गरे’, टिकटका आकांक्षी एक कांग्रेसी नेताले भने, ‘हामीले नेताहरुसँग विरोध जनाउँदा दुई पार्टीबीच सहमति भइसक्यो, अब चुप लाग्नू भन्ने निर्देशन छ।’

वाम गठबन्धनमा सहभागी भएका भट्टराईलाई माओवादी र एमालेले गोरखाबाट टिकट दिन नमानेपछि उनी गठबन्धनबाट बाहिरिएका थिए। भट्टराई दुबै संविधान सभामा निर्वार्चित भएको गोरखा– २ बाट यसपालि माओवादी–एमाले गठबन्धनको उम्मेदवारका रुपमा नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here