२९ असोज विधानतः १५ सदस्यीय संसदीय समिति गठन गर्न सक्ने प्रावधान भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, वरिष्ठ भएर पनि डा.शेखर कोइराला समितिमा नपरेपछि कोइराला परिवारमै हल्लीखल्ली भयो । कांग्रेस महामन्त्री डा.शशांक कोइराला उम्मेदवार छान्ने समिति बैठकमै गएनन् । लगातार कोइराला बैठकमा नगएपछि देउवाले शनिबार समितिमा डा.शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदको नाम थप गरेका छन् । पाँचजना थपिएपछि संसदीय समिति २२ सदस्यीय पुगेको छ ।

तीन हजारभन्दा बढी सिफारिस

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा माथि छ । ‘हामीले संख्या गनेका छैनौँ, तर तीन हजारभन्दा बढी सिफारिस भएर आएका छन्,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले भने ।

उम्मेदवार धेरै भएपछि कार्यदल

समानुपातिकबाट सांसद बन्न एउटै निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि तीन हजार बढी सिफारिस भएपछि नामबारे अध्ययन गर्न संसदीय समितिले कार्यदल गठन गरेको छ । कार्यदलमा डा.रामशरण महत, डा.प्रकाशरण महत, महेश आचार्य र बालकृष्ण खाँण सदस्य छन् । ‘नाम धेरै आएपछि यिनै नामबाट वास्तविक उम्मेदवार खोज्ने सहजताका लागि हामीले कार्यदल गठन गरेका छौँ,’ कार्यदल सदस्य खाँणले नयाँ पत्रिकासँग भने, ‘सम्भावित उम्मेदवारबारे हामीले सिफारिस गरेपछि बोर्डले उम्मेदवारको अन्तिम टुंगो लगाउँछ ।’

शनिबार बिहान ८ देखि १२ बजेसम्म र बेलुका पनि उम्मेदवार छान्ने समितिको बैठक बसेको थियो । आइतबार दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

सिट घटेपछि टिकट र समानुपातिक सूचीमा पार्नै हम्मे

संघीय संसद् २७५ सदस्यीय हुनेछ । यो संख्या समानुपातिककमा ११० र प्रत्यक्षमा १६५ जोड्दाको हो । यस्तो बन्दसूचीमा ११० जनाको नाम बुझाउँदा समावेशी कोटामा महिला, मधेसी, दलित, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रसहितबाट मिलाउनुपर्ने हुन्छ । साथै, प्रत्यक्षमा पनि २४० बाट १६५ मा संख्या झारिएपछि मुख्य दाबेदार पनि प्रत्यक्षमा अटाउन सक्ने अवस्था छैन । यस्तोमा समानुपातिकतर्फ पनि नेताहरूको आँखा पर्ने देखिएको छ ।

ठूला नेता समानुपातिकमा कति सिफारिस ?

प्रभावशाली नेतामा केबी गुरुङ, गोपालमान श्रेष्ठ, प्रदीप गिरिको नाम समानुपातिकका लागि चर्चामा छ । प्रत्यक्षमा सिफारिस भए पनि सुजाता कोइरालालाई पनि समानुपातिक सूचीमा राख्ने तयारी भएको छ । काठमाडौं ५ मा नरहरि आचार्य नउठ्ने भएपछि गिरि वा डा. प्रकाशशरण महतमध्ये एकलाई उठाउने विषयमा कांग्रेसमा छलफल भइरहेको छ । केही जिल्लाबाट प्रत्यक्ष र समानुपातिक दुवैमा नेताहरूको नाम सिफारिस भएको छ ।

अर्का प्रभावशाली नेता कृष्ण सिटौला पनि झापाबाट प्रत्यक्षमा नउठी समानुपातिकतर्फ बस्ने चर्चा छ । गत संविधानसभा निर्वाचनमा झापामा सिटौलापछि राप्रपाका राजेन्द्र लिङ्देनले बढी मत ल्याएका थिए । यसपटक राप्रपाले तालमेलमा झापामा पनि सिट मागेपछि सिटौला समानुपातिकमा बस्ने चर्चा कांग्रेसमा गरिएको छ । तर, उनी प्रत्यक्षमा उठ्न नपाए समानुपातिकमा नबस्ने अडानमा छन् ।

एमालेको आज बस्ने स्थायी समितिले टुंगो लगाउने

एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन ‘महाभारत’ देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ । बन्दसूची पेस गर्ने दिन आइतबारसम्म टुंगो लगाउने गरी स्थायी समितिमा औपचारिक छलफलसमेत भएको छैन ।

समानुपातिकतर्फका सिफारिस भएर आएका दुई हजारभन्दा बढी नाम केन्द्रीय कार्यालयमा जम्मा भइसकेको छैन । सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिकतर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ । शुक्रबार राति अध्यक्ष केपी ओलीले प्रदेश संयोजक र मोर्चा संगठन प्रमुखबाट अन्तिम सम्भावित नामबारे ‘ब्रिफिङ’ लिएका छन् । शनिबार दिनभरिको गृहकार्यका आधारमा आइतबार बस्ने स्थायी समितिबाट टुंगो लगाएर बन्दसूची बुझाउने एमालेको तयारी छ ।

‘देशभरिबाट आएका सिफारिसका आधारमा छनोटका लागि पार्टीले आवश्यक अन्तिम गृहकार्य गरिरहेको छ,’ संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘स्थायी समितिको बैठकअघि सातवटै प्रदेश कमिटीका संयोजकसँग आवश्यकताअनुसार पार्टी अध्यक्षले परामर्श गरिसकेका कारण त्यसअनुसारकै गृहकार्य भइरहेको छ, यी सबै कुराका आधारमा स्थायी समितिको आइतबारको बैठकमा थप छलफल हुनेछ ।’ अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई प्रदेश संयोजकहरूले नियमित ‘ब्रिफिङ’ गरिरहेका छन् ।

जिल्ला र प्रदेशले निर्देशन नमान्दा धेरै सिफारिस

स्थायी समितिले प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फ हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि अधिकांश जिल्लाले आवश्यकताभन्दा ७–८ गुना बढीसम्म नाम सिफारिस गरेका छन् । जिल्लाले प्रदेशलाई त्यसरी नाम सिफारिस गरेपछि अधिकांश प्रदेशले स्थायी समितिको विधि, प्रक्रिया र मापदण्डअनुसार सुझाबसहित माथि नाम पठाउन सकेनन् । त्यसैले पनि प्रदेश संयोजकसँगको परामर्शमा नाम ‘सर्ट लिस्टिङ’ गरेर एकैपटक स्थायी समितिमा छलफल गर्ने एमालेले तयारी गरेको हो । ७७ जिल्लाबाहेक २२ वटा जनसंगठनबाट एमालेमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम आएको छ ।

रोलक्रम माथि पार्न दबाब

निर्वाचनसम्बन्धी कानुनले क्षतिपूर्तिको सिद्धान्तअनुसार प्रत्यक्षतर्फ महिलाको संख्या ३३ प्रतिशत नपुगे समानुपातिकतर्फबाट क्षतिपूर्ति गर्ने व्यवस्था गरेपछि महिलाहरूको नाम बन्दसूचीमा ५० प्रतिशत राख्नुपर्ने बाध्यता छ । यही कारण सिफारिसमा परेका पुरुषहरूले पनि सांसद बन्ने सुनिश्चितताका लागि रोलक्रममा सुरुमै नाम राख्न दबाब दिँदै आएका छन् ।

गठबन्धनका कारण समस्या

माओवादी केन्द्रसहित साना वाम दलसँग तालमेल गर्ने निश्चित भएका कारण अरू दललाई दिइने क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारलाई के गर्ने भन्ने विषय पनि एमालेभित्र टाउको दुखाइको विषय बनेको छ । कतिपयलाई प्रतिनिधिसभा या प्रदेश सभातर्फ समानुपातिकको सूचीमा समावेश गर्नैपर्ने दबाबमा शीर्ष नेताहरू परेको एक नेताले बताए । विशेषगरी एक सातादेखि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलको निवासमा प्रत्यक्ष र समानुपातिकतर्फका सयौँ उम्मेदवारले दलबलसहित भेटेरै छनोटमा पार्न दबाब दिइरहेका छन् ।

नेताहरूको आ–आफ्नै सूची

अध्यक्ष ओली, नेता नेपाल, उपाध्यक्ष गौतम, महासचिव पोखरेललगायत नेताले निकटस्थमार्फत समानुपातिक र प्रत्यक्षतर्फका छुट्टाछुट्टै लिस्टको समेत तयारी गरिरहेका छन् । तलैबाट समूगत हिसाबले पनि उम्मेदवार सिफारिस भएपछि आ–आफ्नो समूहतर्फको सूचीमा र अर्को सूचीमा पर्न पनि आकांक्षीहरूले नियमित ‘लबिङ’ गर्दै आएका छन् ।

एमालेबाट समानुपातिकमा सिफारिस नेताहरू

एमालेबाट केन्द्रीय तहका अधिकांश नेता प्रत्यक्षतर्फ सिफारिस भएका छन् । यद्यपि, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्यहरू ईश्वरी रिजाल, रामकुमारी झाँक्री, केदार न्यौपाने र सुजिता शाक्यको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।

माओवादी कार्यदलले सर्ट लिस्ट गर्दै

माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आइतबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताइन् । ‘पार्टीले समानुपातिक लिस्ट तयार गर्न कार्यदललाई जिम्मेवारी दिएको छ,’ भुसालले भने, ‘प्रदेश सभाबाट अनुमोदन भएपछि कार्यदलले अन्तिममा फाइनल गर्नेछ ।’

जिल्लाले धेरै नाम सिफारिस गर्दा टुंग्याउन गाह्रो

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटा निर्वाचन क्षेत्रबराबर तीनजना सिफारिस गर्न सकिने जनाएको छ । माओवादी केन्द्रबाट एउटा निर्वाचन क्षेत्रले १० देखि १५ जनासम्मको नाम सिफारिस भएको एक नेताले बताए । जिल्लामा विवाद नमिलाई धेरैजनाको नाम सिफारिस गर्दा फाइनल गर्न समस्या भएको हो । वाम तालमेल हुने भएकाले समानुपातिकमा बस्न चाहनेको संख्या वृद्धि भएको छ ।

देशभरबाट प्रतिनिधिसभातर्फ समानुपातिकतर्फ पाँच सयभन्दा धेरै नाम सिफारिस भएको प्रदेश नम्बर १ संयोजक सावित्री काफ्लेले बताइन् । तर, प्रदेश सभाको समानुपातिकतर्फ हजारभन्दा बढी नाम सिफारिस भएको उनको भनाइ छ ।

समानुपातिकमा बस्न पार्टीको यस्तो छ मापदण्ड

माओवादीले समानुपातिक लिस्टमा पार्न मापदण्ड बनाएको छ । विगतमा पार्टीमा गरेको योगदानका आधारमा सूचीमा राखिएको नेता देव गुरुङले बताए । ‘पार्टीमा कति लामो समय संघर्ष ग¥यो, आगामी दिनमा संघर्षको मैदानमा कसरी लड्न सक्छ भन्ने विषयलाई मूल्यांकन गरी क्षमतावान् व्यक्तिलाई सिफारिस गरेका छौँ,’ उनले भने । जनयुद्धमा मृत्यु तथा बेपत्ता पारिएका परिवारका लागि पनि मापदण्ड बनाएको गुरुङले बताए ।

माओवादी शीर्ष नेता समानुपातिकमा

प्रतिनिधिसभाको समानुपातिकतर्फ दाङबाट रेखा शर्मा, बाँकेबाट पूर्णकुमार सुवेदी, रोल्पाबाट सभामुख ओनसरी घर्ती र जयपुरी घर्ती, प्युठानबाट मणि थापा, तनहुँबाट सुरेश आलेमगर, बाँकेबाट तिलक परियारको नाम सिफारिस भएको छ । प्रदेश सभाका लागि जाजरकोटबाट कालिबहादुर मल्ल र डोल्पाबाट सत्या पहाडीको नाम सिफारिस भएको छ ।

सिफारिस धेरै भएपछि कांग्रेसमा सकस

– कांग्रेसले जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर, तीन हजारभन्दा बढीको सिफारिस आयो । ती नाम ‘सर्ट लिस्ट’ गर्न डा. रामशरण महत, महेश आचार्य, डा. प्रकाशरण महत र बालकृष्ण खाण रहेको कार्यदल बनाइएको छ ।

– शनिबार उम्मेदवार छान्ने संसदीय समितिमा शनिबार डा. शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदलाई पनि थपेका छन् । शनिबार दुईपटक समितिको बैठक बसे पनि टुंगो लगाउन सकेन । आइतबार दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

आज समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइँदै

दलहरूले आइतबार समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन् । प्रदेश सभाका लागि २२० र प्रतिनिधिसभाका लागि ११० उम्मेदवारको बन्दसूची बुझाइनेछ । आयोगले बन्दसूची दर्ताका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । दलहरूलाई सहजीकरण गर्न आयोगले सात प्रदेशका लागि सात स्थान निर्धारण गरेको छ । साथै, प्रतिनिधिसभाका उम्मेदवारको सूची दर्ता गराउने स्थान छुट्टै राखेको छ । आयोगका प्रवक्ता नवराज ढकालले दलहरूका लागि आवश्यक पर्न सक्ने कानुनी, प्रशासनिक आवश्यकता सहजीकरण गर्न कर्मचारीको व्यवस्था गरिएको बताए । ‘दलहरूलाई आवश्यक पर्न सक्ने सामग्री उपलब्ध गराउनेसम्मका कर्मचारीको व्यवस्था गरिएको छ,’ उनले भने ।

आज बस्ने एमाले स्थायी समितिले टुंगो लगाउने

– समानुपातिकतर्फका उम्मेदवार छान्न एमाले नेतृत्वलाई महाभारत भएको छ । जिल्लाबाट तोकिएको संख्याभन्दा ७–८ गुणा बढी संख्यामा सिफारिस आएका छन् ।

– प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ । शुक्रबार राति अध्यक्ष केपी ओलीले प्रदेश संयोजक र मोर्चा संगठन प्रमुखबाट अन्तिम सम्भावित नामबारे ‘ब्रिफिङ’ लिएका छन् । शीर्ष नेताहरूले आ–आफ्नै सूची पनि तयार गरेका छन् । शनिबार दिनभरिको गृहकार्यका आधारमा आइतबार बस्ने स्थायी समितिबाट टुंगो लगाएर बन्दसूची बुझाउने एमालेको तयारी छ ।

माओवादीको कार्यदलले सर्ट लिस्ट गर्दै

जिल्लाबाट धेरै नाम सिफारिस भएपछि माओवादी केन्द्रलाई पनि उम्मेदवारको सूची तयार गर्न सकस भएको छ । एउटै निर्वाचन क्षेत्रबाट १५ जनासम्मको सिफारिस आएको छ । उसले कार्यदल बनाएर उम्मेदवार छनोट गर्ने काम गरिरहेको छ । समानुपातिक सूचीमा पर्न माओवादीले मापदण्ड बनाएको छ । ‘पार्टीमा कति लामो समय संघर्ष ग¥यो, आगामी दिनमा संघर्षको मैदानमा कसरी लड्न सक्छ भन्ने विषयलाई मूल्यांकन गरी क्षमतावान् व्यक्तिलाई सिफारिस गर्छौँ,’ नेता देव गुरुङले भने ।

फोरम : संघीय समाजवादी फोरमका उपमहासचिव अजम्बर काङमाङका अनुसार शनिबार रातिसम्म ८०% उम्मेदवार छान्ने काम मात्र भएको छ । ‘आइतबार बिहान अन्य नाम टुंगो लगाएपछि बन्दसूची बुझाइन्छ,’ उनले भने । फोरमबाट वरिष्ठ नेताहरूमध्ये उपाध्यक्ष युवराज कार्की मात्रै समानुपातिक निर्वाचनमा रहनेछन् ।

राजपा : राजपाले पनि नाम टुंगो लगाउन सकेको छैन । महामन्त्री केशव झाका अनुसार आरक्षित कोटाको प्रतिशत मिलाउन समय लागेकाले ढिला भएको हो । राजपाका प्रमुख नेताहरू प्रत्यक्ष निर्वाचनमा भाग लिने तयारीमा छन् । शनिबार साँझसम्म राजपाका शीर्ष नेताहरूले समानुपातिकमा बस्न रुचि देखाएका छैनन् ।

राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको सूची टुंग्याउन आइतबार बिहान कार्यसम्पादन समिति बैठक बोलाएको छ । सोही बैठकले पार्टीका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूची निर्धारण गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रायः शीर्ष नेताहरूको नाम प्रत्यक्षतर्फका लागि तल्ला समितिहरूले सिफारिस गरेकाले अन्य दलहरूसँगको तालमेललाई पनि मध्यनजर गरी कुन–कुन नेतालाई प्रत्यक्षमा र कुन–कुन नेतालाई समानुपातिकमा राख्ने भन्ने निक्र्योेल कार्यसम्पादन समितिले गर्ने सहप्रवक्ता श्रेष्ठले बताए ।

रापप्रा प्रजातान्त्रिक संसदीय समिति बैठक बस्दै

रापप्रा प्रजातान्त्रिकले समानुपातिकतर्फको सूची निर्धारण गर्न आइतबार बिहान संसदीय समितिको बैठक बोलाएको छ । बैठकमा तल्लो तहबाट आएका नाममा छलफल गरी समानुपातिकतर्फको सूची तयार गरिने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । प्रायः शीर्ष नेता प्रत्यक्षतर्फ सिफारिस भएकाले उनीहरूको समानुपातिकको सूचीमा पर्ने सम्भावना कम रहेको उनको भनाइ छ ।

लोकतान्त्रिक फोरमले आज टुंग्याउने

समानुपातिकतर्फको सूची निर्धारण गर्न नेपाल लोकतान्त्रिक फोरमले आइतबार बिहान कार्यसम्पादन समिति बैठक बोलाएको छ । जिल्ला–जिल्लाबाट सिफारिस भएका नाममा छलफल गरी सूची टुंग्याउने उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए । नयांपत्रिका दैनिकवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here