२५ असोज  आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दल उमेदवार चयनमा व्यस्त छन् । नेकपा (एमाले) नेतृत्व र नेपाली कांग्रेस नेतृत्वमा रहेका दुई छुट्टाछुट्टै गठबन्धनको कार्यदल अहिले क्षेत्र बाँडफाँटमा सक्रिय छ । यही क्रममा, कम्युनिस्ट गठबन्धनको नेतृत्व गर्ने एमालेका शीर्ष नेताहरू भने प्रत्यक्षमै चुनाव लड्ने निर्णयमा पुगेका छन् ।

तालमेलको पक्षमा वातावरण बनाउन, वरिष्ठ नेता, पदाधिकारी तथा पोलिटब्युरोका प्रभावशाली नेतालाई प्रत्यक्षमा उमेदवार बनाउने निर्णय एमाले स्थायी समिति बैठकले गरेको आजको कान्तिपुर दैनिकमा बालकृष्ण बस्नेतले लेखेको  समाचारमा उल्लेख छ । एमाले नेता प्रदीप ज्ञवालीसँग कुराकानी गरेर तयार पारिएको समाचारमा शीर्ष नेता प्रत्यक्षमै चुनाव लड्ने निर्णय एमालेले गरेको लेखिएको छ ।

समाचारमा जनाइएअनुसार एमाले अध्यक्ष ओली झापा — ५, झलनाथ खनाल इलाम — १ र माधव नेपाल काठमाडौं — २ बाट निर्वाचन लड्ने पक्का भएको छ । उनीहरू यी क्षेत्रबाट सर्वसम्मत सिफारिसमा पनि परेका छन् ।

उपाध्यक्ष वामदेव गौतम बर्दिया — १, अष्टलक्ष्मी शाक्य काठमाडौं — ९, युवराज ज्ञवाली दाङ — ३, भीम रावल अछाम — १ बाट चुनाव लड्ने भएका छन् । महासचिव इश्वर पोखरेल काठमाडौंबाट चुनाव लड्ने भएका छन् ।

विष्णु पौडेल, घनश्याम भुषाल,  प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङलगायतका नेता पनि प्रत्यक्षमै उमेदवार हुने समाचारमा जनाइएको छ ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित अर्को समाचारअनुसार कांग्रेसको पनि अहिलेसम्म ६८ जिल्लाबाट सिफारिस केन्द्रमा पठाइसकिएको छ भने अझै ९ जिल्लाले नामावली पठाइसकेका छैनन् । यसरी सूची नआउनेमा प्रदेश २ का ७ जिल्ला, रुकुम र रोल्पा रहेका छन् । तालमेलको प्रयास भइरहेकाले ती जिल्लाबाट ढिलो भएको कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here