२२ असोज सिरहा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नपा ३ स्थित हस्पिटल चौकमा रहेको पार्कमा एक यात्रुबाहक बस ठोक्किदा १४ यात्रु घाइते भएका छन्।
नारायनघाटबाट काकड्भिट्टाका लागि छुटेका ना. ५ ख. ७६८२ नम्बरको बस लहानस्थित पार्कमा ठोकिएर आइतबार बिहान दुघर्टना भएको हो। १४ जनामध्ये १२ जनाको उपचार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए। उनका अनुसार दुई यात्रुको अवस्था गम्भीर छ।
गम्भीर घाइते भएका रौतहटका शेखर राणा मगर र महुली सप्तरीका श्री घिमिरेको उपचार लहान अस्पतालमा सम्भव नभएपछि धरान रिफर गरिएको छ। दुबैको टाउँकोमा गम्भीर चोट लागेको छ। घाइतेहरुमध्ये अधिकांशको टाउको फुटेको र कतिपयलाई हाटखुट्टामा चोट लागेको लहान अस्पतालले जनाएको छ।
बसका चालक निदाएपछि विपरित दिशामा रहेको लहानस्थित पार्कमा ठोकिएको प्रहरी निरीक्षक राउतले जानकारी दिए। उनले फरार भएका चालकको खोजी भइरहेको बताए। दुर्घटनामा परेका बस क्षतिग्रस्त बनेको छ भने बसले पार्कको केही भाग भत्काएको छ।