१९ असोज काठमाडौं : सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् । बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् ।

सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­)बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।

सेवा ठप्प पार्दा बिरामी नै मर्कामा परेको भन्दै उनीहरू काममा फर्किए पनि आन्दोलन जारी रहेको घोषणा गरेका थिए । वीर अस्पतालमा कार्यरत डा. कालुसिंह खत्रीले उपचारका क्रममा बिरामीपक्षबाटै असुरक्षित भएको र सुरक्षा दिन सरकारले चासो नलिएकाले आफूहरूले हेल्मेट लगाएर उपचार गर्न थालेको बताए । ‘हामीले प्राप्त गरेको ज्ञान र सीपका आधारमा बिरामीको उपचार गर्ने हो । उपचार प्रक्रिया सतप्रतिशत सफल हुन्छ भन्ने कुनै निश्चितता हुन्न । हामीले जहिले पनि आफूले गर्न सक्ने सबै प्रयास गरेका हुन्छौं ।

एकीकृत आन्दोलन सञ्चालन गर्न युवा चिकित्सक संलग्न ११ वटा संस्थाले ‘टास्क फोर्स’समेत गठन गरेका छन् । सरकार-एनएमए सम्झौता अस्पष्ट भएको भन्दै उनीहरूले आन्दोलनरत विभिन्न संघ संस्थाबीच पर्याप्त छलफलपछि मात्र सरकारसँग सम्झौता हुनुपर्ने माग गरेका छन् । युवा चिकित्सकको विकासमा बाधा पुग्ने गरी चिकित्सकको सेवानिवृत्त हुने उमेर ६५ वर्ष पुर्‍याउने सम्झौता खारेज गर्नुपर्ने उनीहरूको माग छ । माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै उनीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरेर कालोपट्टि बाँधेर हेल्मेट लगाई सेवा दिएका हुन्

एनएमएसँग भएका सम्झौता कार्यान्वयनका क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैरसरकारी चिकित्सकबाट एक/एक युवा प्रतिनिधि अनिवार्य संलग्न गराउन समेत उनीहरूले माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा गत शुक्रबार स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा अस्पतालविरुद्ध आक्रमण र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको व्यवस्थासहित कानून संशोधन गर्ने सहमति जनाएपछि एनएमएले आन्दोलन फिर्ता लिएको थियो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ र त्यससम्बन्धी नियमावली २०६९ संशोधन गर्ने सम्झौतामा स्वास्थ्य सचिव डा. किरण रेग्मी र एनएमएका अध्यक्ष डा. मुक्तिबहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here