१८ असोज काठमाडौं: नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने र त्यसका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ।
यस्तै माओवादीले समर्थन फिर्ता लिएपनि सरकारसंग बहुमत कायमै हुने निधिले दावी गरे। सत्तारुढ दल नेकपा माओवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच निकट भविष्यमा पार्टी एकता गर्ने गरी तत्काल चुनावी तालमेल गर्ने औपचारिक सहमति भएपछि कांग्रेस पार्टीको आगामी रणनीति बनाउन जुटेको हो।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाए पनि कांग्रेसका नेताहरुले भने माओवादीसंगको सम्बन्धमा पुनविचार गर्नुपर्ने धारणा राखेका छन्।
बालुवाटारमा जारी कार्यसम्पादन समितिको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारे सघन छलफल भएको कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले बताए। उनले भने, कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिदै गर्दा हामीलाई पनि लोकतान्त्रिक शक्तिहरुको गठबन्धन बनाउन दवाव छ। कांग्रेसले यसको नेतृत्व गर्छ।’