१८ असोज काठमाडौं : कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्रसुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए।  एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी एकताकै प्रयासमा लागेपछि कांग्रेस लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ। प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पनि पुगेको स्रोतको दाबी छ।

कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन्। यसमा कारक सत्ता परिवर्तनको खेल भए मंसिर १० र २१ गतेको निर्वाचन हुन नसक्ने परिस्थिति उत्पन्न हुने त्रासमा एमाले र माओवादी रहनु देखिएको छ। निर्वाचन अब ५४ दिन मात्र बाँकी छ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी प्रजातान्त्रिक मोर्चामार्फत कांग्रेस निर्वाचनमा जान चाहेको बताएको स्रोतले जनाएको छ। माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवबीचको भेटसमेत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुने तालमेलमा केन्द्रित भएको थियो। यादवले दाहाललाई प्रदेश नम्बर २ मा कांग्रेस आफ्नो पार्टीलाई हराउन लागेका कारण त्यसविरुद्ध आफूहरू रहेको जानकारीसमेत दिएको माओवादी स्रोत बताउँछ।

कांग्रेसका नेताहरूको अनौपचारिक बैठकलगत्तै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री देउवालाई भेटी प्रजातान्त्रिक मोर्चाका लागि कांग्रेसले निर्णय गर्नुपर्ने बताएको बालुवाटार स्रोतले बतायो। देउवाले मंगलबार नै राजपा अध्यक्ष महन्थ ठाकुरलगायत अध्यक्षमण्डलका केही नेतासँग पनि सम्पर्क गरेका थिए। कांग्रेस नेता रमेश लेखकले एमाले र माओवादीबीचको चुनावी तालमेलले कांग्रेसको परिणाममा तात्विक भिन्नता नरहने दाबी गरे। ‘मंगलबार भएको एमाले–माओवादी सहमति प्रजातन्त्रका लागि खतरा हो’, नेता लेखकले भने, ‘कांग्रेसको काम निर्वाचन गराउनु र प्रजातन्त्र बचाउनु हो।’ कांग्रेसले दुई शक्तिको एकता प्रयासलाई ध्यान दिँदै विशेष चुनावी नीति तय गर्नेमा दुईमत नरहेको उनले बताए।

‘वाम एकता आवश्यक होइन’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीबीचको सहमतिलाई सकारात्मक भनेका छन्। यो प्रयासले पूर्णता पाओस् । यो सहमतिमा फोरम सहभागी हुने÷नहुनेबारे अहिले नै केही भन्न नसक्ने उनले बताए। यस्तो कार्यका लागि बृहत् परामर्श आवश्यक छ, परामर्श नै प्रारम्भ नभईकन केही भन्नुहुँदैन।’

राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता शरत्सिंह भण्डारीले एमाले–माओवादी तालमेल घोषणालाई अप्रत्याशित भन्दै यसको उद्देश्य राम्रो नरहेको बताए। भने, ‘यो कार्यले मुलुकलाई विभाजनतर्फ लग्नेछ, राष्ट्र र एकतामा अप्ठेरो पार्छ।’

कांग्रेसका युवा नेता गगनकुमार थापाले एमाले–माओवादी एकता आवश्यक नरहेको टिप्पणी गर्दै नटिक्ने दाबी गरे। लामो समयपछि कम्युनिस्टहरू लोकतान्त्रिक भए, त्यो दीर्घकालीन हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको नेता थापाले बताए। ठूला दुई कम्युनिस्टहरू एक हुँदा पुनः कम्युनिस्ट राज्य हुने त होइन भन्ने चिन्ता र चासो सर्वत्र हुनु स्वाभाविकै रहेको उनको भनाइ छ। ‘चुनावअघि वा पछि कहीं न कहीं यो एकता भत्किन्छ’, उनले भने, ‘यो चुनावी हिसाबमा मात्र हो, मुलुकको आवश्यकता होइन।’ कांग्रेस नेतृत्व सच्चिने, जनताको पार्टी बनाउने असवरका रूपमा आफूले वामपन्थी सहमतिलाई लिएको उनले बताए।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाका अनुसार विस्तृत शान्ति सम्झौताका पक्षधर कांग्रेस र माओवादी एकसाथ आगामी निर्वाचनसम्म जान सकेको भए राम्रो हुन्थ्यो। त्यो नभएकोमा आफू दुःखी भएको उनले बताए।  ‘अब कांग्रेसले बृहत् प्रजातान्त्रिक एकताको पहल गर्नै पर्छ। त्यो पहलले वाम एकतालाई चुनौती दिन सक्छ।’

फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले अप्रत्याशित रूपमा भएको वाम एकता टिक्ने आधार नभएको बताए। भने, ‘यो सहमति टिक्दैन, बरु भत्कन्छ।’ कांग्रेसले बृहत् प्रजातान्त्रिक एकता कायम गर्न पहल गर्नुपर्ने उनले बताए। राप्रपा नेता दिलनाथ गिरीले एमाले र माओवादीबीचको सहमतिले प्रजातन्त्रलाई गम्भीर खतरामा पु-याउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here